रवि र मुख्यमन्त्री थापाबीच भेट, विपद्मा तीन तहका सरकारबीच समन्वय आवश्यक
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाबीच पार्टी कार्यालय बनस्थलीमा भेटवार्ता भएको छ। भेटवार्तामा पछिल्लो विपद्को अवस्था, राहत तथा उद्धार र तीन तहका सरकारबीचको समन्वयलगायत विषयमा छलफल भएको छ।
भेटमा मुख्यमन्त्री थापाले तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसक्दा प्रदेश सरकारले आफ्नै ढंगले काम गर्नुपरेको बताए। प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दा समेत प्रदेश सरकारलाई त्यसबारे जानकारी नदिइएको भन्दै उनले दुःख व्यक्त गरे।
थापाले विपद्का समयमा संघ, प्रदेश र स्थानीय तहले गर्ने काम स्पष्ट रूपमा छुट्याउन आवश्यक रहेको बताए। प्रभावित क्षेत्रमा आवश्यक राहत पुर्याउन कठिनाइ भइरहेको उल्लेख गर्दै उनले पठाइएको राहतसमेत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथिका प्रभावित क्षेत्रमा पुर्याउन असहज भइरहेको जानकारी दिए।
जलवायु परिवर्तनको असर दीर्घकालीन हुने भएकाले खोला किनारमा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तीनै तहका सरकारले तत्काल समन्वयात्मक ढंगबाट काम गर्नुपर्ने आवश्यकता देखिएको मुख्यमन्त्री थापाको भनाइ थियो।
भेटमा रास्वपा सभापति लामिछानेले विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने बताए। अहिलेको अवस्थामा सबै तहका सरकारले समन्वय गरेर काम गर्नुपर्ने विषयमा आफूहरू सचेत रहेको उनले उल्लेख गरे।
लामिछानेले संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।


