विदेशबाट फर्किएका तीन युवाले बकैयामा साबुन उद्योग खोले, १० भन्दा बढीलाई रोजगारी
हेटौंडा / वैदेशिक रोजगारीबाट फर्किएका तीन युवाले आफ्नै गाउँमा उद्योग स्थापना गरेर १० भन्दा बढी स्थानीयलाई रोजगारी दिएका छन्। बकैया गाउँपालिका–३, हात्तीसुँडेमा सूर्य लामा, सन्देश मोक्तान र गगनराज लुङ्बाको संयुक्त पहलमा ‘बकैया मिनी साबुन उद्योग’ सञ्चालनमा ल्याइएको हो।
विदेशमा रोजगारी गरेर स्वदेश फर्किएपछि गाउँमै केही गर्ने उद्देश्यले तीन युवाले बकैया गाउँपालिकाको नामसँग जोडेर ‘बकैया साबुन’ उत्पादन सुरु गरेका हुन्। ‘स्थानीय उत्पादन, हाम्रो पहिचान’ भन्ने अवधारणाका साथ सञ्चालनमा आएको उद्योगले साबुन उत्पादनसँगै स्थानीय रोजगारी सिर्जनालाई समेत प्राथमिकता दिएको छ।
उद्योग सञ्चालनमा आएपछि हालसम्म १० जनाभन्दा बढी स्थानीयले रोजगारी पाएको सञ्चालकहरूले बताएका छन्। रोजगारीका लागि विदेशिएका युवा आफैं स्वदेश फर्किएर उद्योगी बन्नु र अन्य स्थानीयलाई समेत रोजगारी दिनु स्थानीय उद्यमशीलताको उदाहरण बनेको छ।
उद्योगको उद्घाटन समारोहमा संघीय मकवानपुर क्षेत्र नं. १ का सांसद प्रकाश गौतम प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, बागमती गाउँपालिका, मकवानपुरका अध्यक्ष सर्केश घलान, बागमती गाउँपालिका, ललितपुरका अध्यक्ष वीरबहादुर लोप्चन, बकैया गाउँपालिकाका विभिन्न वडाका वडा सदस्य तथा स्थानीयवासीको उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले आगामी निर्वाचनअघि नै भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखिएको बताए। उनले आगामी निर्वाचनमा आफू यही एजेन्डा लिएर जनतामाझ आएमा आफूलाई लखेट्नसमेत आग्रह गरे।
गौतमले गाउँमै उद्योग तथा उद्यम सञ्चालन गरेर रोजगारी सिर्जना गर्न सकिने बताउँदै स्थानीय उत्पादन र उद्यमशीलताको विकासमा राज्य तथा समुदाय दुवै पक्षले प्रोत्साहन गर्नुपर्ने धारणा राखे।
वैदेशिक रोजगारीबाट फर्किएका सूर्य लामा, सन्देश मोक्तान र गगनराज लुङ्बाले विदेशमा श्रम बेचेर फर्किएपछि आफ्नै गाउँमा रोजगारी सिर्जना गर्ने बाटो रोजेका छन्। उनीहरूको पहलमा सञ्चालनमा आएको बकैया साबुन उद्योगले उत्पादनसँगै स्थानीय श्रम, सीप र स्रोतलाई बजारसँग जोड्ने प्रयास गरेको छ।
‘बकैया साबुन’ उत्पादनमार्फत तीन युवाले आफ्नो व्यवसाय मात्र अघि बढाएका छैनन्, बकैयाको नामलाई स्थानीय उत्पादनको ब्रान्डका रूपमा स्थापित गर्ने प्रयाससमेत थालेका छन्। विदेशमा रोजगारी खोज्न बाध्य हुने युवाका लागि स्वदेशमै उद्यम गर्न सकिन्छ भन्ने सन्देश दिने गरी उद्योग अघि बढेको छ।
गाउँमै उद्योग, आफ्नै उत्पादन र स्थानीयलाई रोजगारी—तीन युवाको यो पहलले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई ‘विदेशबाट फर्किएपछि फेरि विदेश नै जानुपर्छ’ भन्ने बाध्यता छैन भन्ने सम्भावनासमेत देखाएको छ।


