खहरेले चार बालिका बगाउँदा एकको मृत्यु, एक जनाको सकुशल उद्धार

पालिका डायरी
२ भाद्र २०८३, २०:१२

हेटौंडा /  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९, बासुदेवस्थित खहरे खोलाको लच्का तर्ने क्रममा चार बालिकालाई बगाएको छ। घटनामा एक बालिकाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्। एक बालिका भने सकुशल फेला परेकी छन्।

मंगलबार साँझ विद्यालयबाट घर फर्कने क्रममा बासुदेव खहरे खोलामा बनेको लच्का तर्ने क्रममा बालिकाहरूलाई खोलाले बगाएको हो। घटनामा हेटौंडा–१९, बस्तिपुरकी ८ वर्षीया रोसनी स्याङ्ताङलाई बगाएको स्थानबाट करिब ५०० मिटर तल रुखको जरामा अडिएको अवस्थामा फेला पारिएको थियो। उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको जनाइएको छ।

सोही घटनामा बस्तिपुरका टिकाराम भोलनकी ११ वर्षीया छोरी सुमित्रा भोलन र राजकुमार भोलनकी १२ वर्षीया छोरी बिनिता भोलन बेपत्ता छन्। उनीहरूको खोजी तथा कार्य भइरहेको छ।

त्यस्तै, सिताराम भोलनकी १३ वर्षीया छोरी सिमा भोलन भने खोलाबाट आफैं निस्कन सफल भएकी छन्। उनलाई सामान्य चोट लागेको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

बेपत्ता बालिकाहरूको खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी परिचालन गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया