फेसबुकमा एमाले नेतामाथि आपत्तिजनक आरोप लगाउने अधिकारी प्रहरी कार्यालयमा, अब यस्तो गतिविधि नगर्ने प्रतिबद्धता

पालिका डायरी
२५ श्रावण २०८३, १६:३८

हेटौंडा /  सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा एमालेका नेता तथा जनप्रतिनिधिमाथि आपत्तिजनक आरोपसहितको सामग्री पोस्ट गरेको विषयमा हेटौंडा–४ बस्दै आएका बैकुण्ठ अधिकारी प्रहरी कार्यालयमा उपस्थित भएका छन्।

अधिकारीले आफ्नो फेसबुक ‘बिबास अधिकारी बैकुण्ठ’ मार्फत हेटौंडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नवीन सिग्देल तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको तस्वीर राख्दै नेकपा एमालेका नेता–कार्यकर्तामाथि गम्भीर आरोप लगाइएको सामग्री सार्वजनिक गरेका थिए।

 

उक्त पोस्टमा एमालेका नेताहरूलाई लक्षित गर्दै भ्रष्टाचार तथा जनताको शोषणसँग जोडेर विभिन्न आरोप लगाइएको थियो। उक्त सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसको व्यापक आलोचना भएको थियो। उक्त घटनापछि वडा प्रहरी कार्यालय हुप्राले अधिकारीलाई कार्यालयमा बोलाई छलफल गराएको थियो। छलफलका क्रममा वडा अध्यक्ष नवीन सिग्देलको समेत उपस्थिति रहेको थियो।

प्रहरी कार्यालयमा भएको छलफलका क्रममा अधिकारीले आफूबाट गल्ती भएको स्वीकार गर्दै आगामी दिनमा कुनै पनि राजनीतिक दल, नेता तथा कार्यकर्ताको मानमर्दन हुने किसिमका गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन्। उनले आफू आवेगमा आएर गरेको पोस्टप्रति माफीसमेत मागेका छन्।

अधिकारीले आगामी दिनमा कुनै पनि राजनीतिक दल वा त्यससँग आबद्ध व्यक्तिको प्रतिष्ठामा आँच पुग्ने किसिमका अभिव्यक्ति तथा सामाजिक सञ्जालमा सामग्री सार्वजनिक नगर्ने बताएका छन्। उनले आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक रहेको समेत बताएका छन्।

 

प्रतिक्रिया