अटोमोबाइल्स एसोसिएसन र सिएमसी अस्पतालबीच स्वास्थ्य सहुलियत सम्झौता
हेटौंडा/ अटोमोबाइल व्यवसायी तथा उनीहरूका परिवारलाई सहुलियतपूर्ण र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हेटौंडा अटोमोबाइल्स एसोसिएसन र सिएमसी हेटौंडा तथा सिएमसी चितवनबीच स्वास्थ्य उपचारसम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ।
सम्झौतापछि एसोसिएसनमा आबद्ध व्यवसायी तथा उनीहरूका परिवारले सिएमसी अस्पतालबाट उपचार तथा औषधि सेवामा विशेष छुट र सहुलियत प्राप्त गर्नेछन्। सम्झौतापत्रमा छुटको दायरा, सेवा लागू हुने तथा नहुने अवस्थालगायतका विषयहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ।
सम्झौता कार्यक्रममा बोल्दै एसोसिएसनका प्रतिनिधि तथा कार्यक्रम संयोजक विकास नेपालले पहुँच भएका व्यवसायीले सहज रूपमा उपचार सेवा प्राप्त गर्न सक्ने भए पनि अधिकांश व्यवसायी त्यस्तो सुविधाबाट वञ्चित हुने अवस्था रहेको बताए। यही यथार्थलाई मध्यनजर गर्दै आम व्यवसायी तथा उनीहरूका परिवारको स्वास्थ्य सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको उनले बताए।
सिएमसी हेटौंडा हस्पिटल लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवकोटाले अस्पताल व्यवसायीहरूको स्वास्थ्यप्रति सदैव जिम्मेवार रहने बताउँदै गुणस्तरीय उपचार सेवा तथा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
सम्झौतापत्रमा सिएमसी हेटौंडा हस्पिटल लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवकोटा, हेटौंडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष धर्मराज धिमाल, एसोसिएसनका प्रतिनिधि तथा कार्यक्रम संयोजक विकास नेपाल तथा अस्पतालका जनसम्पर्क अधिकृत पुरुषोत्तम न्यौपानेले हस्ताक्षर गरेका छन्।
अस्पतालका अध्यक्ष तथा प्रबन्ध निर्देशक देवकोटाका अनुसार उक्त सम्झौता २०८३ साल साउन २० गतेदेखि २०८५ साल साउन २० गतेसम्म लागू रहनेछ।
यस सहकार्यले अटोमोबाइल व्यवसायी तथा उनीहरूका परिवारलाई सहज, भरपर्दो र सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै व्यवसायीहरूको सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

