थाहामा घरबाट अवैध एकनाले बन्दुक बरामद, गोले चितवनमा लागूऔषध गाँजा सहित पक्राउ
AI Photo
मकवानपुरको थाहा नगरपालिका–११ तल्लो माहाकालस्थित एक घरबाट प्रहरीले एक थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
आज (बिहिबार) दिउँसो करिब १:३० बजे इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा थाहा नगरपालिका–११ तल्लो माहाकाल निवासी ४१ वर्षीय मोहन कुमार गोलेको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा घरभित्र लुकाई–छिपाई राखिएको अवस्थामा एक थान एकनाले भरुवा बन्दुक फेला परेपछि प्रहरीले रितपूर्वक बरामद गरी इलाका प्रहरी कार्यालय पालुङमा ल्याई सुरक्षित राखेको जनाएको छ।
प्रहरीका अनुसार मोहन कुमार गोले हाल इलाका प्रहरी कार्यालय मुग्लिन, चितवनमा लागूऔषध गाँजा सहित पक्राउ परेका छन्। उक्त घटनासम्बन्धी आवश्यक अनुसन्धान इलाका प्रहरी कार्यालय मुग्लिनबाट भइरहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।
बरामद गरिएको भरुवा बन्दुक तथा यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

