त्रिभुवन राजपथमा तरकारी बोकेको डिब्बा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर घाइते
त्रिभुवन राजपथमा तरकारी बोकेको डिब्बा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ट्रक चालक गम्भीर घाइते भएका छन्।
मकवानपुरको भीमफेदी गाउँपालिका–२ तिलटारमा तरकारी बोकेको मधेश प्रदेश ०३–००२ ख ५०९५ नम्बरको ६ चक्के डिब्बा ट्रक दुर्घटना हुँदा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ निवासी ३६ वर्षीय अर्जुन कार्कीको मृत्यु भएको हो।
दुर्घटनामा ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–९ निवासी २३ वर्षीय रञ्जित कार्की घाइते भएका छन्। उनको दायाँ खुट्टा भाँचिनुका साथै शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको र हेटौंडामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
मकवानपुर प्रहरीका अनुसार बुधबार राति करिब २:३० बजे पालुङबाट वीरगञ्जतर्फ तरकारी बोकेर जाँदै गरेको ट्रक सडकबाट खोलामा खसेको थियो। वर्षासँगै लागेको बाक्लो हुस्सुका कारण ओरालो सडकमा चिप्लिएर अनियन्त्रित ट्रक सडकबाट करिब १ सय मिटर तल चण्डी खोलामा खसेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए।
मृतक अर्जुन कार्की ट्रक चालक रञ्जित कार्कीका काका हुन्। घटनाको जानकारी आज बिहान करिब ६:३० बजे मात्रै प्राप्त भएको प्रहरीले जनाएको छ। घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको नेतृत्वमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो। प्रहरीले स्थानीयको सहयोगमा दुवै जनाको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पठाएको थियो।
उपचारका क्रममा बिहान करिब ९ बजे चिकित्सकले अर्जुनलाई मृत घोषणा गरेका डीएसपी काफ्लेले बताए। दुर्घटनाको समयमा ट्रकमा चालकसहित दुई जना मात्र सवार रहेको पाइएको छ। दुर्घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

