माथिबाट ढुंगा खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी अवरुद्ध

पालिका डायरी
१८ श्रावण २०८३, ०८:२६

मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुलमा माथिबाट ढुंगा खस्दा सडक एकतर्फी अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार ढुंगा खसेपछि सुरक्षाका कारण नयाँ पुलबाट सवारी आवागमन रोकिएको छ भने पुरानो पुलबाट मात्र एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

अवरुद्ध सडक खुलाउन सडक डिभिजनले पहिरो तथा ढुंगा हटाउन आवश्यक उपकरण परिचालन गरिसकेको जनाएको छ। सडकलाई पुनः दुवैतर्फी सञ्चालनमा ल्याउन करिब १ देखि २ घण्टा लाग्ने अनुमान गरिएको छ।

सडक डिभिजन भरतपुरले यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै पुरानो पुलबाट मात्र एकतर्फी सुरक्षित यात्रा गर्न चालक तथा यात्रुलाई अनुरोध गरेको छ। साथै, सडक पूर्ण रूपमा सञ्चालनमा नआउञ्जेल सावधानी अपनाएर यात्रा गर्न पनि आग्रह गरिएको छ।

प्रतिक्रिया