थाहा नगरका गोपाली, हेटौंडामा मृत अवस्थामा फेला

पालिका डायरी
१० श्रावण २०८३, १२:५०
थाहा नगरका गोपाली, हेटौंडामा मृत अवस्थामा फेला

हेटौंडा /  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार  साउन १० गते बिहान करिब ६:१५ बजे घटनाबारे प्रहरी कन्ट्रोल रुममा सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक उमाशंकर प्रसादको कमाण्डमा अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो।

घटनास्थल आसपास रगत देखिएपछि थप अनुसन्धानका लागि प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीको कमाण्डमा अर्को प्रहरी टोली परिचालन गरिएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा मृतक थाहा नगरपालिका–१० स्थायी ठेगाना भएका रामबहादुर गोपालीका ४१ वर्षीय छोरा आश्मान गोपाली रहेको खुलेको छ ।

घटनाको थप अनुसन्धानका लागि बिहान करिब ८:३० बजे बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट ट्रयाकर कुकुरसहितको टोली समेत घटनास्थलमा खटिएको छ । हाल मृतकको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

प्रतिक्रिया