अनलाइन ठगीमा संलग्न रहेको आरोपमा ३ भारतीयसहित १ नेपाली पक्राउ

पालिका डायरी
८ श्रावण २०८३, १९:५९
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ file photo

हेटौंडा /  मकवानपुर प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा तीन जना भारतीय नागरिक र एक जना नेपाली होटल सञ्चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौंडाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा हेटौंडा उपमहानगरपालिका–१०, बसपार्कस्थित बास्तोला होटलमा छापा मारेर भारतको बिहार राज्य, पटना निवासी २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज तथा उक्त होटलका ३७ वर्षीय सञ्चालक दीपक बास्तोलालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको मिलेमतोमा भारतीय नागरिकहरूलाई विभिन्न प्रलोभनमा पारेर अनलाइन माध्यमबाट ठगी गर्ने गतिविधि सञ्चालन भइरहेको भन्ने सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले प्रयोग गरेका मोबाइल उपकरणहरूमा टेलिग्राम, ह्वाट्सएपलगायतका सामाजिक सञ्जाल तथा सञ्चार एपमार्फत विभिन्न समूह (ग्रुप) सिर्जना गरी ठगीसम्बन्धी गतिविधि सञ्चालन गरेको र रकमको कारोबारसमेत भएको देखिएको प्रहरीले जनाएको छ।

यस घटनामा पक्राउ परेका चारै जनाविरुद्ध मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट अनलाइन ठगीसम्बन्धी कसुरमा म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया