भीमफेदीमा तरकारी बोकेको पिकअप बलेरो दुर्घटना, चालक र सहचालक घाइते
मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरस्थित त्रिभुवन राजपथमा तरकारी बोकेको पिकअप बलेरो दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन् ।
पालुङबाट हेटौंडातर्फ जाँदै गरेको लु २ च ८३४१ नम्बरको पिकअप बलेरो सडकमा चिप्लिएर अनियन्त्रित भएपछि सडकको दाहिने किनारबाट करिब १०० मिटर तल भिरमा खसेको बागमती प्रदेश प्रहरीकार्यालय हेटौंडाले जानकारी दिएको छ ।
दुर्घटनापछि पिकअप बलेरो घटनास्थलमै रहेको छ भने गाडीमा क्षति पुगेको छ । साथै दुर्घटनामा चालक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रामग्राम नगरपालिका–६ निवासी करिब ३७ वर्षीय प्रेम सागर गुप्ताको दाहिने हात र काँधमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ ।
त्यसैगरी, सहचालक सोही स्थानका करिब ३२ वर्षीय भरत गुप्ताको दाहिने खुट्टामा चोट लागेको छ । उनको अवस्था पनि मध्यम रहेको छ ।दुवै घाइतेलाई उपचारका लागि हेटौंडातर्फ पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

