हेटौँडाबाट काठमाडौं जाने सवारी साँझ ५ बजेदेखि दुई स्थानमा ‘होल्ड’
photo/ aash bahadur lama
हेटौँडा/ जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दुई प्रमुख सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ । अविरल वर्षापछि बाढी, पहिरो र खोलानालामा पानीको बहाव बढ्दै गएपछि हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै दुई प्रमुख सडकखण्डमा रोक लगाइएको हो ।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सोमबार (आज) सूचना जारी गर्दै कान्तिलोकपथ सडकखण्डाको हेटौंडा–ठिंगन–बागमती–ललितपुर सडकखण्डमा आज साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्म सवारी साधन सञ्चालन गर्न नपाइने जनाएका छन् । उक्त सडक प्रयोग गर्ने सवारी साधनलाई हेटौंडा उपमहानगरपालिका–६ चौघडामा रोक्न प्रशासनले निर्देशन दिएको छ ।
त्यस्तै, हेटौंडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौं सडकखण्डमा पनि आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। यस मार्गमा सञ्चालन हुने सवारी साधनलाई हेटौंडा–१ को चौकीटोलमा रोक्ने व्यवस्था गरिएको प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका गए रातिदेखिको लगातार वर्षाका कारण मकवानपुरका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेको छ । यसले विभिन्न सडकखण्ड अवरुद्ध हुनुका साथै सडक यातायात उच्च जोखिममा परेकाले यात्रुको सुरक्षा र सम्भावित दुर्घटना न्यूनीकरणका लागि यस्तो निर्णय गरिएको हो ।
प्रशासनले सम्बन्धित निकाय, यातायात व्यवसायी, चालक तथा सर्वसाधारणलाई तोकिएको समयपछि उक्त सडकमार्गमा सवारी सञ्चालन नगर्न तथा सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। साथै, मौसम र सडक अवस्थासम्बन्धी आधिकारिक सूचनाको निरन्तर पालना गर्न पनि अनुरोध गरेको छ ।

