मकवानपुरको मनहरीमा यात्रुबाहक बस दुर्घटना, पाँच जना घाइते

पालिका डायरी
२४ असार २०८३, ०७:१८

हेटौंडा /  मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार राति (हिजो) मङ्गलबार करिब ११ बजेको समयमा  ना ५ ख ५३१९ नम्बरको  यात्रुबाहक बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

वीरगञ्जबाट लमजुङतर्फ जाँदै गरेको बसको स्टेयरिङको टाई–रड अचानक भाँचिएपछि बस अनियन्त्रित भई सडकको दाहिने किनारमा कोल्टो परेर दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा चालकसहित १६ जना सवार थिए।

दुर्घटनालगत्तै प्रहरीले स्थानीयवासीसँग समन्वय गरी घाइतेहरूको उद्धार गरेर मनहरी अस्पताल पठाएको थियो। सामान्य उपचारपछि पाँचै जनालाई थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको छ।

घाइतेमध्ये बस चालक सर्लाही निवासी ३९ वर्षीय भिमबहादुर विकको टाउकोमा गम्भीर चोट लागेको छ। त्यस्तै चितवन भरतपुर महानगरपालिका–४ निवासी ३० वर्षीय सञ्जय तामाङको दाहिने हातमा सामान्य चोट लागेको छ।

यस्तै, पर्साको परवानीपुर नगरपालिका–२३ निवासी ५४ वर्षीय मोहम्मद आजादको निधार र बायाँ खुट्टामा सामान्य चोट लागेको, बाराको देवताल गाउँपालिका–१ निवासी २३ वर्षीय राजकुमार रामको दाहिने हातमा चोट लागेको तथा भारतको मोतिहारी जिल्ला निवासी २५ वर्षीय सुदिर कुमारको बायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि स्थानीयको सहयोगमा बसलाई सडकमा सीधा पारेर सडक किनारमा सुरक्षित रूपमा पार्किङ गरिएको थियो। राजमार्गमा सवारी आवागमन अवरुद्ध नभएको र अन्य यात्रुहरूलाई गन्तव्यतर्फ पठाइसकिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया