हेटौंडा / मकवानपुर प्रहरीले हिजो १० गते शनिबार र आज गरि विभिन्न स्थानमा गरिएको चेकजाँचका क्रममा ७ ग्राम २०० मिलिग्राम खैरो हेरोईनसहित ६ जनालाई पक्राउ गरेको छ।
मकवानपुर जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले रितपूर्वक खानतलासी गर्दा पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित लागू औषध खैरो हेरोईन फेला परेको हो। बरामद लागू औषधसहित उनीहरूलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–२ बस्ने २१ वर्षीय विकास परियारको साथबाट ३ ग्राम ७५० मिलिग्राम, उपमहानगरपालिका–४ बस्ने २१ वर्षीय विनोद ढुङ्गानाको साथबाट ३ ग्राम लागू औषध फेला गरेका हुन ।
त्यस्तै उपमहानगरपालिका–११ बस्ने २२ वर्षीय छिरिङ लो र वडा नं. १९ बस्ने २९ वर्षीय विनोद राज जिम्बाको साथबाट ०.२५० मिलिग्राम तथा उपमहानगरपालिका–१७ ठुले गंगटे बस्ने २४ वर्षीय योएल प्रजा र २९ वर्षीय प्रेम बहादुर प्रजाको साथबाट २०० मिलिग्राम खैरो हेरोईन बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।



