ट्रक पल्टिँदा कान्ति लोकपथमा रोकियो सवारीसाधन आवागमन
कान्तिलोक पथमा ट्रक पल्टिँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
शुक्रबार (आज) बिहान मकवानपुरको बकैया गाउँपालिका-११ लेनडाँडामा परालको भुस बोकेको ट्रक अनयन्त्रित भएर पल्टिँदा सडक बन्द भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
मकवानपुर प्रहरीका अनुसार आज बिहान ४:४५ बजे बाराबाट परालको भुस लोड गरेर काठमाडौँतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००२ ख १३६५ नम्बरको मिनीट्रक अनियन्त्रित भई सडकबीचमा पल्टिएको हो ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी पोस्ट जितपुरभज्याङबाट प्रहरी वरिष्ठ हवलदार सुरेन्द्र दरैको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) पुस्कर बोगटीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । ट्रक चालक बारा कोल्बी नगरपालिका-४ निवासी २४ वर्षीय समीर तामाङ प्रहरी सम्पर्कमा छन् भने सडक खुलाउन कठिनाइ भइरहेको डीएसपी बोगटीले बताए ।
ट्रक हटाउन क्रेन ल्याउन समन्वय भइरहेको प्रहरीले जनाएको छ ।



