रवि लामिछानेको निलम्बन फुकुवाको माग गर्दै रास्वपा नेता सभामुखको कार्यालयमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुखलाई भेटेर सभापति रवि लामिछानेको निलम्बन फुकुवाको लागि दवाव दिएको छ ।
मंगलबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यालयमा पुगेर रास्वपाका नेताले सभामुख देवराज घिमिरेलाई भेटेर लामिछानेको निलम्बन फुकुवाको माग गरेका हुन् ।
रास्वपाले एक महिनाअघि नै सभापति लामिछानेको निलम्बन फुकुवाको माग गर्दै सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाएको थियो । तर त्यो पत्रको सुनुवाई अहिलेसम्म नभएपछि पुनः सभामुखकहाँ गएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
सोमबार लामिछाने ६ महिनापछि पार्टी कार्यालयमा सभापतिकै हैसियतमा उपस्थित भएका थिए । पार्टी बैठकको अध्यक्षतासमेत गरेका उनले राज्यले राजनीतिक प्रतिशोध साँधेर आफूलाई दुःख दिएको बताएका छन् ।
त्यसक्रममा पार्टी कार्यालयमा उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै उनले सरकारले आफूलाई जिउँदै छोड्नु नै आफ्नो जित भएकोसमेत बताएका छन् ।



