बुद्ध एयरको सफ्टवेयर ह्याक गरी टिकट बिक्री, दुई जना पक्राउ
काठमाडौं / बुद्ध एयरको सफ्टवेयर ह्याक गरिएको छ । हवाई-टिकट बिक्रीका लागि विकसित कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच पुर्याएर टिकट बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका-७ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने ४५ वर्षीय विकास भारती र गोरखा अजिरकोट गाउँपालिका-३ घर भई ताकेश्वर नगरपालिका-४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी रहेका छन् ।
उनीहरूलाई काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीबाट आइतबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूले गौशाला-बत्तीसपुतली क्षेत्रबाट बुद्ध एयरको सफ्टवेयर ह्याक गरेका थिए ।
पन्ध्र दिनअगाडिबाट उनीहरूले बुद्ध एयरको सफ्टवेयर ह्याक गरेको प्रहरीलाई बताएका छन् । ‘अहिलेसम्म २० जनाको टिकट बिक्री गरी उक्त रकम आफूले लाभ लिएको खुल्न आएको छ,’ कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने ।
आफ्नो सफ्टवेयर ह्याक भएर टिकट धमाधम बिक्री भइरहेको थाहा पाएपछि बुद्ध एयरले उजुरी दिएको थियो । पक्राउ परेका दुबैलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

