धादिङमा ब्याक गर्ने क्रममा ट्यांकर खस्यो, २ जनाको मृत्यु, २ गम्भीर घाइते

पालिका डायरी
१४ फाल्गुन २०८१, १६:२६
accident

धादिङको गल्छी गाउँपालिका-३, गुप्तेश्वरस्थित भित्री कच्ची सडकमा पानी ट्यांकर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।

आज बिहान करिब २ बजेतिर आदमघाटबाट गुप्तेश्वर मन्दिरतर्फ पानी लिएर जाँदै गरेको बागमती प्रदेश ०१-००४ क ३३५२ नम्बरको ट्यांकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट ५/६ सय मिटर तल खसेको हो ।

दुर्घटनामा धादिङ गजुरी गाउँपालिका-६ बस्ने १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको घटनास्थलमै मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १९ वर्षका शिरिष चेपाङ र १७ वर्षका सुरेश चेपाङ गम्भीर घाइते भएका हुन् । उनीहरूलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय सुनौला बजारबाट प्रहरी निरीक्षक राजु प्रसाद ढकालको नेतृत्वमा ७ जना र इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक राजकुमार खड्काको नेतृत्वमा ६ जनाको टोली घटनास्थलमा खटिएका थिए ।

घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याइएको छ भने ट्यांकर चालक २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ट्यांकर ब्याक गर्ने क्रममा सडक साँघुरो भएकाले दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया