हेटौंडाबाट सुनसहित एक जना पक्राउ
हेटौंडा / मकवानपुर प्रहरीले ४३.३८ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका वडा नं. १५ रातोमाटे चेकपोष्टमा सवारी साधनहरू रोकि चेकजाँच गर्ने क्रममा उक्त सुन फेला पारेको हो।
बारा जिल्लाको कोल्वीबाट नारायणघाटतर्फ जाँदै गरेको ना ५ ख ५१२९ नम्बरको यात्रुवाहक बस जाँच गर्दा बस चालक बारा कोल्वी नगरपालिका वडा नं. ५ बस्ने ३३ वर्षीय जस जोशी चौधरीलाई शंका लागि खानतलासी गर्दा निजको साथबाट ४३.३८ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ। उक्त सुनको बजार मूल्य हालको दरअनुसार रु. ६,३५,२२६।– पर्ने अनुमान गरिएको छ।
प्रहरीले बरामद गरेको धातुसहित जस जोशी चौधरीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाएको प्रहरीले जानकारी दिएको छ।

