हेटौंडा-१५ मा व्यवस्थित खानेपानी योजना निर्माण हुँदै अध्यक्ष मोक्तानले गरे शिलान्यास

पालिका डायरी
९ फाल्गुन २०८१, २१:३९
हेटौंडा /  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ साबिकको चुरियामाई गा.वि.स. ३ र ४ मा व्यवस्थित तथा सुविधा सम्पन्न खानेपानी योजना निर्माण गरिने भएको छ।
नेपाल सरकार संघीय खानेपानी तथा व्यवस्थापन आयोजना, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा ४ लाख लिटर क्षमताको खानेपानी ट्यांकी, मेन तथा शाखा पाइपलाइन विस्तार र विद्युतीकरण कार्यका लागि रू. १० करोड बराबर बजेट प्राप्त भई प्रक्रिया अघि बढिसकेको वडा अध्यक्ष सुनिल मोक्तानले बताए।

यस्तै ए डि बि संगको सहकार्यमा हेटौंडा-१५ भोर्लेमा ६ लाख लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण तथा पाइपलाइन विस्तार कार्यका लागि आज एक कार्यक्रमबीच हेटौंडा खानेपानी बोर्डका अध्यक्ष प्रताप विष्टको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यता र निर्वाचित जनप्रतिनिधि, टोल विकास समिति, समाजसेवी, बुद्धिजीवीहरू साथै स्थानीय उपभोक्ताहरूको उपस्थितिमा पाइपलाइन विस्तार तथा तीन लाख लिटर बराबर क्षमताको खानेपानी ट्यांकीको शिलान्यास गरिएको छ।

उक्त कार्यक्रममा छोटो भनाइ राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा हेटौंडा-१५ का वडा अध्यक्ष सुनिल मोक्तानले वडा वासिलाई खानेपानीको अभाव हुन नदिन आफूले संघीय खानेपानी तथा व्यवस्थापन आयोजना हेटौंडा र हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा आवश्यक बजेट विनियोजन गराई आज शिलान्यास समारोहमा आइपुगेको बताए। उनले आफू टोल-टोलमा रहेका जनताको हरेक समस्यासँग जानकार रहेकोले उनीहरूकै हरेक खाले समस्यामा सहकार्य गरेर समाधान गर्न लाग्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया