फिस्लिङमा कार र ट्रक ठोकिए

पालिका डायरी
२१ माघ २०८१, १५:०९
फिस्लिङमा कार र ट्रक ठोकिए

पृथ्वी राजमार्गमा ट्रक र कार आपसमा ठोक्किँदा एक जना गम्भीर घाइते भएका छन् । सोमबार बिहान पौने १२ बजेतिर पृथ्वी राजमार्ग अन्तर्गत पर्ने चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारामा ट्रक र कार एकआपसमा ठोकिएका हुन् ।

चितवन प्रहरीका अनुसार काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १७५४ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१–०२७ च ४००० नम्बरको कार ओभरटेक गर्ने क्रममा ठोकिएका प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा सवार रुपन्देहीको देवदह नगरपालिका–४ की ५० वर्षीया मायादेवी उपाध्याय गम्भीर घाइते भएकी छिन्। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । गम्भीर घाइते उपाध्यायलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुर अस्पताल पठाइएको चितवन प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर महतोले जानकारी दिए । उनका अनुसार कार चालक रुपन्देही, देवदह नगरपालिका–४ का ५५ वर्षीय पुष्पराज अर्याल उपचारमा संलग्न रहेका छन् ।

यता, ट्रक चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ का ४४ वर्षीय गोपाल कार्कीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । दुर्घटनाका कारण बाटो एकतर्फी सञ्चालनमा रहेको छ भने ट्रक र कार दुवै घटनास्थलमै रहेका छन् ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक र प्रहरी चौकी फिस्लिङका प्रहरी सहायक निरीक्षक घनश्याम लामाको टोली घटनास्थलमा परिचालित भएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया