लटारम्भेश्वर मन्दिरलाई देशकै उत्कृष्ट धार्मिक केन्द्र बनाइने – गाउँपालिका अध्यक्ष लामा

पालिका डायरी
२ माघ २०८१, १२:०२
लटारम्भेश्वर मन्दिरलाई देशकै उत्कृष्ट धार्मिक केन्द्र बनाइने - गाउँपालिका अध्यक्ष लामा

हेटौंडा /  भीमफेदी गाउँपालिका वडा नम्बर ८ मा अवस्थित लटारम्भेश्वर मन्दिरमा प्रत्येक वर्ष माघ १ गते लाग्ने मेला यस वर्ष पनि भव्यरूपमा सम्पन्न भएको छ। भीमफेदी गाउँपालिकाको अगुवाइमा स्थानीय साङग शान्ति युवा क्लबको आयोजनामा मकवानपुरको भीमफेदी र बकैया गाउँपालिकाको सिमानामा पर्ने महादेवटारको माथि डब्लु डाँडामा रहेको लटारम्भेश्वर मन्दिरमा साङग शान्ति युवा क्लब द्वारा आयोजित एक कार्यक्रममा क्लबका अध्यक्ष विषम ‍ब्लोन लामाको सभाअध्यक्षतामा भएको स्वागत कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको प्रमुख आतिथ्यता तथा ८ नम्बर वडा अध्यक्ष विष्णु बहादुर लामाको विशेष आतिथ्यता रहेको थियो।

कार्यक्रमलाई आफ्नो महत्त्वपूर्ण भनाइ राख्दै गाउँपालिका अध्यक्ष हिदम लामाले उपस्थित श्रद्धालु भक्तजनहरूलाई स्वागत गर्दै लटारम्भेश्वर मन्दिरलाई भीमफेदी गाउँपालिकाले प्रमुख धार्मिक केन्द्रको रूपमा राखेर संरक्षण र प्रचारप्रसारमा लागेको बताए। उनले धार्मिक ग्रन्थ अनुसार महादेवले सतीदेवीको मृत शरीरलाई बोकेर हिँड्दा यस पवित्र स्थलमा आइपुग्दा सतीदेवीको लट्टा पतन भएर लटारम्भेश्वर महादेवको उत्पत्ति भएको किंवदन्ती रहेको बताउँदै अब यस लटारम्भेश्वर मन्दिरलाई देशकै उत्कृष्ट धार्मिक क्षेत्रको रूपमा लैजान आफूले काम गर्ने बताए।

उनले आफू गाउँपालिकाको अध्यक्ष नहुँदासम्म यस क्षेत्रमा आउन धेरै कठिन, घाँसको जरामा टेकेर आउनुपर्ने थियो। अहिले आफ्नो विशेष पहलमा बाटो, खानेपानी, बिजुली लगायत मन्दिरको संरक्षणमा अतुलनीय काम भएको तपाईंहरू आफैले देख्नुभएको छ भन्दै उपस्थित भक्तजनहरूलाई खुसी हुँदै स्वागत गरे।

उक्त लटारम्भेश्वर मन्दिरमा प्रत्येक वर्ष बैशाख १ गते र माघ १ गते भव्य रूपमा मेला लाग्ने गर्छ। उक्त मेला हेर्न काठमाडौं, ललितपुर, भक्तपुर लगायत बारा, पर्सा, मकवानपुरको हेटौंडादेखिका भक्तजनहरूको करिब ५ हजार जतिको उपस्थिति रहेको आयोजक संस्थाका अध्यक्ष विषम ब्लोन लामाले बताए। मेलालाई इलाका प्रहरी कार्यालय ठिङ्गनले सुरक्षा प्रदान गरेको थियो। मेलाको लागि मन्दिरलाई रङ्गीचङ्गी बनाएर झिलिमिली सहित सजावट गरिएको थियो।

लटारम्भेश्वर मन्दिर जानको लागि हेटौंडाबाट चौघडा, चुचेखोला, ठिङ्गन हुँदै जान सकिन्छ भने काठमाडौंबाट सातदोबाटो, चापागाउँ, टीकाभैरव, छपेली, बगुवा हुँदै महादेवटारबाट पनि जान सकिन्छ। भक्तजनहरूको लागि स्थानीय युवाहरूले स्थानीय उत्पादनमा रहेर गाँस, बास र कपासको पनि राम्रो व्यवस्था गरिएको छ। मन्दिरसम्म पुग्नको लागि काठमाडौंबाट र हेटौंडाबाट लगभग बराबरको दूरीमा रहेको छ। दुवै तर्फ काठमाडौंबाट र हेटौंडाबाट कान्तिराजपथको बाटो हुँदै करिब ५० किलोमिटरको दूरी पार गरेपछि उक्त लटारम्भेश्वर मन्दिर पुग्न सकिन्छ।

प्रतिक्रिया