भोटेकोसी बाढी: मकवानपुरका ७० जना सम्पर्कविहीन
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि मकवानपुरका ७० जना सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार रसुवालगायत बाढी प्रभावित क्षेत्रमा पुगेका जिल्लावासीका आफन्तले सम्पर्क हुन नसकेको भन्दै प्रशासनमा जानकारी गराएका हुन् ।
उनका अनुसार सम्पर्क विहीन भएकाहरुमध्ये केही आफन्तको सम्पर्कमा आउन थालेका छन् । बेपत्ता हुनेमा गोसाइँकुण्डलगायत क्षेत्रमा दर्शन तथा घुमघामका लागि पुगेका, बाढी प्रभावित क्षेत्रमा सवारीसाधन चलाउँदै आएका तथा विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिहरू रहेको प्रारम्भिक विवरण छ । प्रमुख जिल्ला अधिकारी अधिकारीले प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क अवरुद्ध भएकाले सम्पर्क हुन नसकेका सबै व्यक्तिको अवस्था यकिन भइसकेको भने नरहेको बताएका छन् । प्रशासनले प्राप्त विवरणका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको अवस्था बुझ्ने प्रयास गरिरहेको जनाएको छ ।
यसअघि बिहीबार (हिजो) बिहानसम्म मकवानपुरका ४० जनाका आफन्तले प्रशासनमा सम्पर्क गरी अवस्था बुझिदिन आग्रह गरेको विवरण सार्वजनिक भएको थियो । पछिल्लो विवरणअनुसार उक्त संख्या ७० पुगेको हो । बाढी प्रभावित क्षेत्रमा नेटवर्कको समस्याका कारण तथा विपत्का बेला मोबाइलहरु अफ भएको र बागाएका कारण समेत सम्पर्क टुटेको हुनसक्ने प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । ‘कतिपयले आफ्ना आफन्त सम्पर्कमा नरहेको भनेर फोन मार्फत टिपाइरहनु भएको छ । तर फेला परेपछि भने सम्पर्क नगरिदिने कारण ठेट डाटा निकाल्न सकिएको छैन । तर, हालसम्म ७० जना सम्पर्क बाहिर रहेको विवरण टिपाउनु भएको छ,’ उनले भने ।


