मिनी ट्रकबाट १ हजार ३३ किलोभन्दा बढी गाँजा बरामद, चालक पक्राउ
पालिका डायरी
१६ श्रावण २०८३, ०६:४८
मोरङको रतुवामाई नगरपालिका–१०, सोमबारेस्थित उर्लाबारी–आमबारी सडकखण्डमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय सिजुवा, मोरङ र सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म बङ्गडा चुनिबारीबाट खटिएको संयुक्त टोलीले उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनी ट्रकलाई रोकी चेकजाँच गरेको थियो।
जाँचका क्रममा ट्रकको पछाडि राखिएको धानको भुसाको बोरामुनि कालो प्लास्टिकमा प्याक गरिएको ३१ वटा पोकाभित्र लुकाइराखिएको १ हजार ३३ किलो ४८४ ग्राम तयारी गाँजा फेला परेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले गाँजासहित मिनी ट्रक नियन्त्रणमा लिएको छ। साथै ट्रक चालक धनकुटाको पाख्रीबास नगरपालिका–९, हिले निवासी २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।