हेटौँडामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जना घाइते

पालिका डायरी
१४ श्रावण २०८३, १०:४६
हेटौँडामा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जना घाइते AI photo

हेटौँडा /  हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्री अगाडिको भित्री सडक खण्डमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

रातोमाटेबाट भोर्लेतर्फ जाँदै गरेको बा.प्र.०३–००६ प २५२३ नम्बरको स्कुटरलाई फारलाइनबाट रिद्धिसिद्धितर्फ आउँदै गरेको ना २१ प ८२९८ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ।

दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा उपमहानगरपालिका–५ निवासी करिब ५० वर्षीय महेश्वर अमात्य घाइते भएका छन्। उनको ढाडमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। त्यस्तै, स्कुटर चालक हेटौँडा उपमहानगरपालिका–१५ निवासी करिब ३२ वर्षीया माया तामाङको काँधमा चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको छ।

दुवै घाइतेलाई उपचारका लागि मकवानपुर सहकारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक जाँचमा दुवै चालकले मादक पदार्थ सेवन नगरेको र कागजातसमेत ठीक रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधनमा क्षति पुगेको छ भने हाल ती सवारीसाधन इलाका प्रहरी कार्यालय रातोमाटेको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया