उद्योग कार्यालय मकवानपुरमा अनलाइन सेवाको शुभारम्भ, अब सबै सेवा घरबाटै
हेटौँडा / उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरले सेवाग्राहीलाई सहज, छिटो र पारदर्शी सेवा उपलब्ध गराउने उद्देश्यका साथ अनलाइन सेवाको औपचारिक शुभारम्भ गरेको छ । बिहीबार (आज) उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले एक कार्यक्रमबीच अनलाइन सेवाको शुभारम्भ गरेकी हुन् ।
अनलाइन प्रणाली सञ्चालनमा आएपछि उद्योग दर्ता, नवीकरण लगायत विभिन्न सेवाका लागि सेवाग्राहीले कार्यालयमा प्रत्यक्ष उपस्थित हुनुपर्ने बाध्यता हट्ने लक्ष लिइएको छ। नयाँ प्रणालीमार्फत सेवाग्राहीले घरमै बसेर अनलाइन माध्यमबाट आवश्यक आवेदन दर्ता, नवीकरण तथा अन्य प्रशासनिक प्रक्रिया पूरा गर्न सक्नेछन् । यसबाट समय र खर्चको बचत हुनुका साथै सेवा प्रवाह थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बन्ने उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद भुषालले बताए ।

उनका अनुसार डिजिटल प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवा प्रवाहलाई सहज, सरल र नागरिकमैत्री बनाउने उद्देश्यले अनलाइन सेवा सञ्चालनमा ल्याइएको हो । कार्यालयलाई पेपर लेस बनाउने उदेश्य अनुसार अनलाइन सेवाको शुभारम्भ गरिएको उनले बताए । अनलाइनबाट फारम भरेर, अनलाइनमै दर्ता देखि नविकरणसम्मको सेवा लिन सकिने व्यवस्था मिलाइएको हो ।
त्यसोत, बागमती प्रदेशमा रहेका उद्योग तथा वाणिज्य कार्यालयलाई नमूना कार्यालय बनाउन मन्त्रालयको टीमले विभिन्न कामहरु गर्दै आएको उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव जीवलाल भुषालले शुभारम्भ भएसँगै अब यसलाई नियमित रुपमा लैजान कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिए । ‘कुनै पनि कार्यको शुभारम्भले नयाँ सन्देश त दिन्छ नै, सचिव भुषालले भने, ‘अब यस कार्यलाई नमूना बनाउनका लागि कार्यालयका कर्मचारी साथीहरुले प्राविधि पक्षलाई बलियो बनाएर काम गर्न आवश्यक छ ।’

शुभारम्भ पश्चात् मन्त्री श्रेष्ठले शुमकामना मन्तव्य राख्दै उद्योग कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटो, छरितो बनाउन अनालइन प्रणालीले मद्दत पुग्ने बताइन् । ‘अब उद्योगका कामहरु गर्न लाइनमा होइन अनलाइनमा हुनुपर्छ भन्ने मान्यताको सुरुवात भएको छ, मन्त्री श्रेष्ठले भनिन्, ‘अनलाइन मार्फत दर्ता, नविकरण सबै काम घरमै बसेर गर्न सकिन्छ भन्ने सूचना सेवाग्राहीसम्म पुर्याउन आवश्यक छ । कतिपय सेवाग्राहीलाई अनलाइन सिस्टम थाहा नहुन पनि सक्छ, उहाँहरुको लागि डेक्स स्थापना गरेर सेवा दिन कार्यालयले भूमिका खेल्न पर्छ ।’

मन्त्री श्रेष्ठले प्रदेशका सबै उद्योग कार्यालयहरुलाई नमूना कार्यालय बनाउने योजना सहित अघि बढिरहेको अवस्थामा मकवानपुर कार्यालयले गरेको फरक अभ्यासको प्रशंसा समेत गरिन् । भौतिक संरचनाको अभावका कारण अन्य जिल्लामा जस्तो सुविधा सम्पन्न नमूना कार्यालय बनाउन नसके पनि अनलाइन सेवाको सुरुवात मकवानपुर कार्यालयबाट भएको भन्दै उनले कार्यालय प्रमुख भुषाललाई धन्यवाद ज्ञापन गरिन् ।
कार्यक्रममा मन्त्रालयका प्रशासन तथा योजना महाशाखा प्रमुख कुमार तामाङ, उद्योग तथा वाणिज्य महाशाखा प्रमुख महेशराज पौडेल, मन्त्रालयका वातावरण शाखाका नवराज थापा लगायत कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

