सिमखोला बाढीले बगाएको स्कुटी १ सय मिटर तल फेला, चालक अझै भेटिएनन्

पालिका डायरी
३० असार २०८३, ११:२९

हेटौँडा / मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा आएको बाढीले बगाएको स्कुटी फेला परेको छ । बाढीमा बेपत्ता भएको बा.प्रदेश–०२–०३२ प ८०५४ नम्बरको स्कुटी घटनास्थलबाट करिब १ सय मिटर तल फेला परेको हो ।

सोमबार (हिजो) दिउँसो करिब ३ बजे अचानक आएको बाढीले स्कुटी सहित चालकलाई बगाएको थियो। घटनालगत्तै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी खोज तथा उद्धार कार्य सुरु गरिएको थियो । सोही क्रममा आज स्कुटी घटनास्थलबाट करिब १ सय मिटर तल खोलाको दहमा फेला परेको हो। तर स्कुटी चालक अझै बेपत्ता रहेकाले उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीले बगाएर ल्याएको लेदो तथा ढुंगाका कारण खोजी अभियानमा कठिनाइ भइरहेको भए पनि सुरक्षाकर्मीले सम्भावित क्षेत्रमा निरन्तर खोजी गरिरहेका छन् । स्थानीय बासिन्दासमेत खोजी कार्यमा सहयोग गरिरहेका छन् । प्रहरीका अनुसार चालकको अवस्था खुल्न बाँकी रहेको छ भने खोजी तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन गरिएको छ ।

प्रतिक्रिया