मकवानपुरमा ५९ प्रतिशत मतदान, भोलि बिहानबाट मात्रै मतगणना
मकवानपुरमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रियामा ५९ प्रतिशत मत खसेको छ।
मतदान सम्पन्न भएपश्चात् जिल्लाको १० वटै स्थानीय तहको मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम जारी रहेको छ। प्रदेश निर्वाचन अधिकारी हरि ढकालका अनुसार मकवानपुरमा कुल ३ लाख १५ हजार ३३४ मतदातामध्ये १ लाख ८६ हजार ५५१ जनाले मतदान गरेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार मतदान गर्नेमा ९६ हजार ६३४ पुरुष, ८९ हजार ९१२ महिला र अन्य ६ जना रहेका छन्।
निर्वाचन क्षेत्र नम्बर–१ मा ९५ हजार ३१० मत खसेको छ भने निर्वाचन क्षेत्र नम्बर–२ मा ९१ हजार २४१ मत खसेको छ। जिल्लाका दुई अस्थायी सहित ३७६ मतदान केन्द्रमा निर्वाचन सम्पन्न गरिएको थियो। प्रमुख निर्वाचन ढकालका अनुसार शुक्रबार बिहान सर्वदलीय बैठकपछि मतगणना सुरु गरिनेछ। मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना स्थल हेटौंडा–४ स्थित भुटानदेवी माध्यमिक विद्यालय तोकिएको छ।
मकवानपुरका विकटमा रहेका मतदान केन्द्रका मतपेटिका छिमेकी जिल्ला हुँदै हेटौंडा ल्यान पर्ने भएकोले भोलि मात्रै मतगणा गर्न लागिएको हो। छिमेकी जिल्ला बारा, रौतहट र चितवनको सडक मार्ग प्रयोग गर्नुपर्ने हुन्छ।


