शिक्षा र खेलकुद जोडौँ : अध्यक्ष सिग्देल
हेटौँडा / शिक्षा र खेलकुदलाई जोड्नुपर्ने हेटौँडा–४ नं. वडा अध्यक्षले बताएका छन् । शुक्रबार नगरस्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै वडा अध्यक्ष सिग्देलले विद्यार्थीको शारीरिक र मानसिक विकासका लागि शिक्षा र खेलकुदलाई सँगै लिएर जानुपर्ने बताए । अतिरिक्त क्रियाकलापको माध्यमबाट शिक्षामा गुणस्तर सुधार गर्ने उद्देश्यले वडा कार्यालयले विभिन्न खेलकुद र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेको उनको भनाइ थियो ।
४ नं. वडा कार्यालयको आयोजनामा तथा शैक्षिक गुणस्तर सुधार समितिको संयोजन र भुटनदेवी माविको व्यवस्थापनमा नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको ह । ६ वटा विद्यालय सहभागी रहेका छन् र माघ २३ र २४ गते दुई दिन भुटनदेवी माविको मैदानमा प्रतियोगिता भइरहेको खेलकुद संयोजक राजाराम पोखरेलले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, वडा कार्यालयका सचिव रामप्रसाद गसरागाईं, आधुनिक राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्ष महमद समिम खान, शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ का संयोजक तथा श्रमिक माविका प्रअ श्रीराम दाहाल, आधुनिक राष्ट्रिय माविका प्रअ रामसागर गुरागाईं, चन्द्रदय माविका प्रअ जीधराज ढकाल, नगर टनेल विकास समन्वय समितिका महासचिव शिवहरि दाहाल, भुटनदेवी मावि व्यवस्थापन समितिका सदस्य राजेन्द्रकुमार बस्ताकोटी लगायतको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रम भुटनदेवी माविका प्रअ सूर्यप्रसाद घिमिरेको सभाध्यक्षतामा भएको भुटनदेवी माविका सहप्रअ भरत पोखरेलले जानकारी दिए ।


