बागमतीमा कांग्रेसका ५ मन्त्री नियुक्त हुँदै

पालिका डायरी
३० श्रावण २०८२, १३:५५

 

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार (आज) मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन्। हाल रिक्त रहेको मन्त्रालयहरुमा पूर्णता दिनका लागि मुख्यमन्त्री बानियाँले ५ मन्त्री नियुक्त गर्न लागेका हुन् । कांग्रेसको भागमा रहेका ५ मन्त्री नियुक्त गरी आजै सपथ ग्रहण कार्यक्रम राखिएको बताइएको छ ।

कांग्रेसबाट काभ्रे प्रदेश निर्वाचन क्षेत्र २(२) बाट निर्वाचित सांसद कञ्चनचन्द्र बादे, रसुवाको प्रदेश निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित सांसद प्रभात तामाङ, भक्तपुर प्रदेश निर्वाचन क्षेत्र १(१) बाट निर्वाचित सांसद सुरेश श्रेष्ठ मन्त्री नियुक्त गरिन लागेको गोप्य स्रोत बताएको छ । यस्तै, ललितपुरबाट समानुपातिक सांसद उर्मिला नेपाल, चितवनबाट समानुपातिक सांसद बिनु रायमाझीलाई मन्त्री नियुक्त गरेर आजै सपथ ग्रहण गराउने तयारीमा मुख्यमन्त्री बानियाँ जुटेका छन् । यी ५ जना नै बानियाँ निकटका सांसद हुन्। उनीहरुलाई कुन कुन ? मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयको टुंगो लाग्न भने बाँकी छ । नवनियुक्त मन्त्रीहरुको सपथ आजै दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयमा आयोजना भएको स्रोतले जनाएको छ ।

दुई दलीय गठबन्धनमा कांग्रेसको भागमा मुख्यमन्त्री सहित ८ मन्त्रालय र एमालेको भागमा ६ मन्त्रालय छ। जसमध्ये कांग्रेसबाट मुख्यमन्त्री बाहेक दुई मन्त्री नियुक्त भैसकेका छन् । साउन २० गते नियुक्त भएका कृष्ण कुमार तामाङलाई खानेपानी उर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ भने शिवराज अधिकारीलाई विभागीय जिम्मेवारी दिन बाँकी छ । अधिकारीलाई आजै विभागीय जिम्मेवारी समेत तोकिने स्रोतले जनाएको छ ।

प्रतिक्रिया