वन मन्त्रीद्वारा पत्करलाई धुलो बनाएर मल बनाउने मेसिनको उद्घाटन

हेटौंडा / डाङ्डुङ्गे सामुदायिक वन उपभोक्ता समूहको हाताभित्र जडान गरिएको पत्कर धुलो बनाउने र कुहिएको पत्करलाई धुलो बनाएर मल बनाउने मेसिनको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले उद्घाटन गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै मन्त्री सिलवालले मेसिनबाट उत्पादन भएको धुलो पत्कर कुखुरालाई ओछ्याउन काम लाग्ने र कुखुराको सुली मिसिएको धुलोले राम्रो मलको रूपमा प्रयोग गर्न सकिने भएकाले त्यसबाट आम्दानीको नयाँ बाटो खुल्ने बताएका छन् । उनले आफ्नो कार्यकालमा वन समिति तथा उपभोक्ताहरूको हितमा नयाँ नीति लागू गर्न छलफल भइरहेको जानकारी पनि दिए ।
डाङ्डुङ्गे सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि बागमती प्रदेशसभा सदस्य भारती पाठकले शुभकामना व्यक्त गर्दै सामुदायिक वन उपभोक्ता महासंघसँग पनि हातेमालो गर्न सुझाव दिइन् । उनले आफू सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय अध्यक्ष समेत भएकाले वनको मुद्दामा वकालत गर्दै बजेट ल्याउन पहल गरिरहेको बताइन् ।
कार्यक्रममा वडा अध्यक्ष जुना दाहाल, डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख हेमराज थापा, सहायक वन अधिकृत सुरेशकुमार गुप्ता, वन अधिकृत दामोदर पाण्डे, सब डिभिजन वन कार्यालय सनन्टारका प्रमुख हरिप्रसाद अधिकारी लगायतको आतिथ्य रहेको थियो।
