भीमफेदीमा खोलाले बगाएर एक जनाको मृत्यु

हेटौंडा / मकवानपुरको भीमफेदी गाउँपालिका–१ टौवास खोलामा नुहाउने क्रममा एक पुरुषको खोलाले बगाएर मृत्यु भएको छ ।
शनिबार (आज) दिउँसो करीब ३:१५ बजेको समयमा पर्सा, बिरगन्ज महानगरपालिका-५ बस्ने ४५/५० वर्षका पुरुषोत्तम शर्मा आफ्ना साथीहरूसहित घुम्न आएका थिए । उनीहरु बिरगन्जबाट ईभी (EV) गाडी रिजर्भ गरी टौवास पुगेका थिए । बनभोज खाएर रमाइलो गरिरहेका बेला उनीसहित ४-५ जना खोलामा नुहाउन गएका थिए । खोलामा नुहाएर तर्ने क्रममा एक्कासि पानीको बहाव बढ्दा शर्मालाई खोलाले बगाएर मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएको छ ।
घटनापछि उनलाई खोलाले झण्डै ४०० मिटर तलसम्म बगाएको थियो । सूचना प्राप्त हुनासाथ प्रहरी चौकी भैँसेबाट प्रहरी टोली खटिएको र घटनास्थल सुरक्षित गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनाकाे विषयमा थप अनुसन्धान भइरहकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया