हेटौंडा १५ मा शैक्षिक महोत्सव सम्पन्न

पालिका डायरी
२० असार २०८२, २२:३४

हेटौंडा /  ‘स्वच्छ, उत्पादनशील, समृद्ध सहर : हेटौंडा’ भन्ने मूल नाराका साथ हेटौंडा उपमहानगरपालिका–१५ मा आयोजित शैक्षिक महोत्सव आज बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका छन्।

महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि स्थानीय तहले आवश्यक नीति बनाउनुपर्ने बताएका छन्। पछिल्लो समयमा सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढेको उल्लेख गर्दै उनले विद्यालयको भौतिक पूर्वाधार विकास तथा शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारले नीतिगत रूपमा ध्यान दिनुपर्ने बताए। स्थानीय तह र समुदायको पहलमा विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गर्न सकिने सुझाव पनि उनले दिएका छन्।

उनका अनुसार विद्यालयले आयोजना गरेको यस्ता शैक्षिक महोत्सवहरूले विद्यार्थीको प्रतिभा पहिचान गर्न र शैक्षिक सुधारका लागि बहस सिर्जना गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा वडा नं. १५ का वडाध्यक्ष तथा वडा शिक्षा समिति संयोजक सुनिल मोक्तानले शिक्षामा सुधार ल्याउन वडाको लगानीका साथै शिक्षक, अभिभावक र सामाजिक व्यक्तित्वहरूको प्रत्यक्ष सहभागितामा विद्यार्थीको क्षमताअनुसारका क्रियाकलापहरू सञ्चालन गरिएको बताए।

कार्यक्रममा वडा सदस्यहरू मिनु बिस्वकर्मा, पतली माया गोम्बा, सिंहबहादुर लो लगायत सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया