हेटौंडामा एक दिवसीय रोजगार प्रवद्र्धन मेला सम्पन्न, सय भन्दा बढीले भरे रोजगारीका लागि फारम

हेटौंडा / पछिल्लो समय विभिन्न संस्थाहरुले रोजगारका क्षेत्रमा नविन कार्यहरु गर्दै आएका छन् । नागरिकहरुलाई प्रत्यक्ष रोजगारीमा जोड्न संघ देखि स्थानीय तहसम्म विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरिएको छ । यसै अनुरुप बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा रोजगार प्रवद्र्धन गर्ने उदेश्यले उद्यम प्रदर्शनसँगै बेरोजगार नागरिकलाई रोजगारीमा जोड्ने अपेक्षा सहित रोजगार प्रवद्र्धन मेला नै अयोजना गरियो ।
बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा दुईदिने रोजगार प्रवद्र्धन मेला सञ्चालन भयो । हेटौंडा उपमहानगरपालिकामा रहेका उद्योगहरुमा बेरोजगार नागरिकहरुलाई रोजगार दिने तथा उद्योगहरुबाट उत्पादन भएका सामाग्रीहरु प्रदर्शन तथा बजारीकरणमा सहयोग गर्ने उदेश्यले एक दिवसीय रोजगार मेला चल्योे । हेटौंडाकै उद्यमीहरुले उत्पादन गरेका लघु उद्यमका सामाग्रीहरु देखि हेटौंडा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुले उत्पादन गर्ने सामाग्रीहरुको समेत प्रदर्शनी गरिएको थियो ।
जसका लागि बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयसँगको सहकार्यमा उपमहानगरपालिका र उद्योग संघ मकवानपुरको सहआयोजनामा रोजगार प्रवद्र्धन मेलाको आयोजना गरेको हो । एक दिवसीय रोजगार प्रवद्र्धन मेलामा करिब १२ सय भन्दा बढी मानिसहरुले अवलोकन गरेका थिए । हेटौंडामा रहेका विभिन्न विद्यालय तथा क्याम्पसका विद्यार्थी र शिक्षकहरुले समेत मेलाको अवलोकन गरेका हुन् ।
त्यसोत, मेलाकै आयोजना गरेर आफूहरुले उत्पादन गरेको सामाग्रीहरु प्रदर्शन तथा बजारीकरणमा साथ दिएको भन्दै उद्यमीहरु खुसी देखिएका छन् । आफ्ना उद्योगहरुमा उत्पादन गरेको सामाग्री मेलामा ल्याएर प्रदर्शन गर्दा एकातिर सामाग्रीहरुको बजारीकरण हुने र अर्कातिर सामानको माग बढ्ने उनीहरुको अनुभव छ ।
कुनै समय आफुहरुले उत्पादन गर्दै आएको सामान बिक्री गर्नै समस्या भएर उद्यमबाटै पलाएन हुन पर्ने स्थितीमा आइपुगेका उद्यमीहरुलाई पछिल्लो समय विभिन्न मेला, महोत्वस जस्ता कार्यक्रमहरुले उत्पादित सामाग्रीको ब्राण्डिङमा सहजता ल्याएको पिप्ले पोखरा सामुदायिक काष्ठ हस्तकला उद्योगकी उद्यमी विष्णुकुमारी राई बताउँछिन् । आजभोलि उनीहरुले बनाउँदै आएका काष्ठकलाका सामाग्रीहरु विदेशसम्म पुग्ने गरेको छ ।
त्यसोत, यो मेलाको मुल उदेश्य बजारीकरण मात्रै नभएर बेरोजगार नागरिकहरुलाई रोजगारीमा जोड्नु हो । नगरमा रहेका दक्ष सीप सिकेका तर रोजगारदाता कम्पनी फेला नपारेर बेरोजगार बस्नुपरेका नागरिकहरुलाई लक्षित गरी मेलाको आयोजना गरिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम बताउँछन् । यो मेलामा रोजगारका लागि फारम भरेका जनशक्तिलाई रोजगारी प्रदान गर्न हेटौंडाका उद्योगहरुसँग नगरपालिकाले सहकार्य गर्ने उदेश्यका साथ रोजगार प्रवद्र्धन मेलाको आयोजना गरिएको गौतमले बताए ।
त्यसोत, उक्त रोजगार प्रवद्र्धन मेलामै रोजगार फारम खुल्ला गरिएको थियो । सीपयुक्क्त जनशक्तिलाई रोजगार प्रदान गर्न फारम खुलाइएको हो । जसमा दिनभरको अवधिमा करिब १ सय भन्दाबढीले रोजगार फारम भरेका थिए । अब त्यहाँ फारम भर्नेहरुलाई विभिन्न संघ संस्था तथा उद्योगहरुमा क्षमता र सीप अनुसार रोजगार प्रदान गर्न हेटौंडा उपमहानगरपालिकाले समन्वय गर्ने बताइएको छ । रोजगार मेलामा स्टल राखेका उद्योगहरुले उनीहरुलाई हायर गरेर रोजगारी प्रदान गर्ने हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मिना कुमारी लामाको दाबी छ ।
‘कुनै समय महिलाले सुरु गरेको उद्योगहरु कहिले अघि बढ्नु भनेर कुरा काट्नेहरु अहिले अचम्म मान्न थालेका छन्,’ नगरप्रमुख लामाले भनिन्, ‘सबै कुराको सुरुवात सानोबाट नै हुने हो । अहिले देश विदेशमा चिनाइरहेको ढाकाको कपडा, गुन्द्रुक, काठको सामान लगाएत सबै सानो प्रयासबाटै सुरु भएका हुन् । घरको एउटा सानो कोठाबाट सुरु गरिएको कामलाई उद्योगमा दर्ता गरेर महिलाले उत्पादन गरेको सामान विदेशसम्म पुग्नु भनेको चानचुने उपलब्धि होइन । रोजगारका लागि नगरले कति काम गरेको छ भन्ने उदाहण यी उद्यमीहरु हुन् ।’
रोजगार प्रवद्र्धन मेलाको आयोजना गर्नुको उदेश्य नगरमा बेराजगार नागरिको संख्या घटाएर सीप अनुसारको रोजगार प्रदान गर्नु रहेको नगरप्रमुख लामाले बताइन् ।
यता, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज भट्टले यो मेला प्रभावकारी भएको बताए । एक दिवसीय भएका कारण समय अपुग भएको गुनासो आएको बताउँदै उनले भने, ‘समय थोरै भयो । कम्तिमा पनि ३ दिनको हुनपथ्र्यो भन्ने कुरा उद्यामीहरुको आयो । थोरै समयमै कार्यक्रमको बन्दोबस्त मिलाउन परेका कारण औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुको सबै उत्पादन समेट्न पाएनौं । आगामी बर्ष समयमै सबै समेट्नेगरि यस्तै मेलाको आयोजना गर्छाैं ।’
त्यसोत, रोजगार प्रवद्र्धन मेलाको उद्घाटन सत्रका प्रमुख अतिथि बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले रोजगारीको क्षेत्रमा मन्त्रालयले बजेट विनियोजन गरेको जानकारी दिए । विभिन्न क्षेत्रमा तालिम लगाएत युवाहरुलाई आइटी सेक्टरमा दक्ष बनाउनका लागि तालिम सहितको रोजगारी प्रदान गर्नका लागि बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् । बेरोजगारदर घटाएर रोजगार प्रदान गर्न मन्त्रालयले आवश्यक कमद चालिरहेको र त्यसका लागि स्थानीय तह र सरोकारवाला संस्थाहरुको समन्वय र सहकार्य आवश्यक पर्ने मन्त्री महर्जनले बताए ।
रोजगार प्रवद्र्धन मेलामा लधुउद्यम तथा ठुला उद्योगका गरी कुल ५१ वटा स्टलहरु राखिएको थियो । ती सबै स्टल संचालन गर्ने उद्योगहरुले, रोजगारीका लागि फारम भरेका र उद्योगलाई आवश्यक पर्ने सीप जानेका हरुलाई रोजगारी प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । जसका लागि उद्योग संघ, मकवानपुरले प्रमुख भूमिका खेल्ने उद्योग संघ मकवानपुरका प्रतिनिधिहरुले प्रतिवद्धता जनाएका छन् ।
