हेटौंडा–१५ मा ब्याडमिन्टन कभर्ड हल उद्घाटन

पालिका डायरी
७ असार २०८२, २२:१९

हेटौंडा /  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५को लगानीमा हेटौंडा–१५ को भोर्लेमा स्थानीय स्तरमै खेल प्रवर्द्धन र शारीरिक स्वास्थ्यमा टेवा पुर्‍याउने उद्देश्यले निर्माण गरिएको ब्याडमिन्टन कभर्ड हलको उद्घाटन गरिएको छ।

वडाध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा उनले खेलकुदलाई वडाको प्राथमिकतामा राख्दै भविष्यमा हेटौंडा–१५ का अन्य स्थानहरूमा पनि यस्ता खेलमैत्री पूर्वाधारहरू विस्तार गरिने स्पष्ट पारे। “स्वास्थ्य र अनुशासनको जग खेलकुद नै हो,” अध्यक्ष मोक्तानले सम्बोधन गर्दै भने, “स्थानीय युवाहरूलाई खेलतर्फ आकर्षित गर्न यस्ता संरचनाले उत्प्रेरणा दिनेछ।”

कार्यक्रममा स्थानीय खेलाडी, युवा तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीहरूले नयाँ हलबाट स्थानीय खेल विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरे।

उद्घाटनसँगै कभर्ड हल सर्वसाधारणका लागि सञ्चालनमा ल्याइएको छ, जहाँ नियमित अभ्यास र प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया