भुवनेश्वर अतिथि सदनको उद्घाटन गर्दै पूर्वमन्त्री श्रेष्ठले भने : भवन बन्यो, अब बाँकी सामानको लागि पहल गर्छु

पालिका डायरी
१२ चैत्र २०८१, १९:५६

हेटौंडा । पशुपति मन्दिरमा निर्माण गरिएको भुवनेश्वर अतिथि सदनको मंगलबार उद्घाटन गरिएको छ । मंगलबार (आज) हेटौँंडा उपमहानगरपालिका–४ मा रहेको पशुपती मन्दिरमा नव निर्मित अतिथि भवन सदनको उद्घाटन गरिएको हो । बागमती प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री एकालाल श्रेष्ठले मन्दिर परिसरमा रहेको ३ कोठे अतिथि सदनको उद्घाटन गरेका हुन् ।

आफ्नै पहलमा प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयबाट २० लाख रुपैंया बजेट सुनिश्चिता गरेर निर्माण भएको अतिथि सदनको उद्घाटन गर्दै पूर्वमन्त्री श्रेष्ठले अब अतिथि सदनमा आवश्यक सामाग्रीको लागि पनि पहल भैरहेको बताए । सिरक डसना देखि कोठामा आवश्यक पर्ने सामाग्रीको बन्दोबस्तको लागि आफ्नो तर्फबाट पहल भैरहेको बताएका हुन् । साथै, हेटौंडालाई धार्मिक पर्यटकीइ क्षेत्रको रुपमा विकास गर्नको लागि भुवनेश्वर मन्दिरले ठुलो भूीमका खेल्ने समेत उनले बताए ।

 

पछिल्लो समय मकवानपुरमा धेरै धार्मिक पर्यटकहरुको आगमन बढिरहेको बताउँदै सांसद श्रेष्ठले धार्मिक कार्यहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्न ठोस कार्ययोजना बनाउन समेत आग्रह गरे। औद्योगिक नगरीको रुपमा चिनिएको हेटौंडालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा समेत चिनाउन प्रदेश सरकार, स्थानीय तह लगायतमा नागरिक समाज एकजुट हुनुपर्ने बताए ।

२२ लाख २३ हजार लागतमा अतिथि सदन निर्माण गरिएको हो । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयबाट प्राप्त २० लाख र भुवेनश्वर मन्दिर सेवा समितिको २ लाख २३ हजार सहयोगमा सदन निर्माण गरिएको हो । भुवनेश्वर सेवा समितिका वरिष्ठ उपाध्यक्ष तेज प्रसाद रुपाखेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा पर्यटन विकास आयोजना बागमती प्रदेशका कार्यालय प्रमुख रोशन कुमार श्रीवास्तव लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया