विद्युत् प्राधिकरणको बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा, एमाले कार्यकर्ताले पिटे कार्यालय प्रमुख

पालिका डायरी
१२ चैत्र २०८१, १४:५८
विद्युत् प्राधिकरणको बोर्डमा प्रधानमन्त्रीविरुद्ध नारा, एमाले कार्यकर्ताले पिटे कार्यालय प्रमुख

नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कुटपिट भएको छ । मंगलबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा कार्यालयको डिजिटल बोर्डमा डिस्प्ले भएपछि एमालेका कार्यकर्ताले कुटपिट गरेका हुन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले कुटपिट गर्नेविरुद्ध लिखित उजुरी गर्न भनेको र उजुरी आएपछि संलग्नलाई कारबाही गर्ने बताए । प्रधानमन्त्रीविरुद्ध कार्यालयको डिजिटल बोर्डमा कसरी उक्त नारा डिस्प्ले भयो भन्ने पनि २४ घण्टाभित्रमा प्रतिवेदन बुझाउन निर्देशन दिएको प्रजिअ पौडेलले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले बर्खास्त गर्ने निर्णय गरेपछि कार्यालयको बोर्डमा घण्टौँसम्म प्रधानमन्त्रीविरुद्धको नारा डिस्प्ले गरिएको थियो ।

त्यही विषयको विरोधमा एमाले कार्यकर्ता कार्यालयमा पुगेका थिए । त्यसक्रममा उनीहरूले श्रेष्ठमाथि हातपात गरेका हुन् । वितरण केन्द्र प्रमुख श्रेष्ठले भने सिस्टम ह्याकिङ भएको भन्दै प्रमुख जिल्ला अधिकारीलाई बताएका थिए । उनलाई प्रमुख जिल्ला अधिकारीले ह्याकिङ भएको हो भने त्यही अनुसार विज्ञप्ति जारी गर्नुस् भनेको तर उनले विज्ञप्ति पनि ननिकालेको प्रजिअ पौडेलले बताए ।

‘घटना जे भएको हो त्यो उल्लेख गरेर गल्ती स्वीकार गर्दै संलग्नलाई कारबाही गर्ने कुरा उल्लेख गरेर विज्ञप्ति जारी गर्न भने पनि उनले विज्ञप्ति ननिकालेपछि विहानै कार्यकर्ता पुगेर लफडा गरेछन् । पछि त प्रहरीसहित म पनि पुगिसकेको थिएँँ’, प्रजिअ पौडेलले भने ।

 

प्रतिक्रिया