नवलपरासीमा दुई समूहबीच झडप : १५ प्रहरीसहित २० जना घाइते

पालिका डायरी
१३ फाल्गुन २०८१, १७:१७
नवलपरासीमा दुई समूहबीच झडप : १५ प्रहरीसहित २० जना घाइते

नवलपरासीमा दुई समुदायको झडप हुँदा २० जना घाइते भएका छन् । एकको अवस्था गम्भीर छ । आक्रोशित स्थानीयले प्रहरीको गाडी र एउटा कवार्ड गोदाममा आगो लगाइदिएका छन् ।

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुरमा मंगलबार स्थानीय युवायुवतीको प्रेम सम्बन्धको विषयमा सुरु भएको विवादले उग्र रुप लिएको हो । दुई समूहको विवादकै क्रममा गाडीको ठकरबाट दुई जना घाइते भएका छन् ।

निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेका अनुसार विजय धवल र वैजनाथ लोहनीलाई गाडीले किचेको हो । विजयको अवस्था गम्भीर छ । दुईजनाको भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुलाई गाडी ब्याक गरेर किचेको भन्दै केटा पक्षले अर्को पक्षको गोदाममा आगजनी गरेको हो । उनीहरुले प्रहरीको गाडीमा पनि आगजनी गरेका छन् ।

दुई समूहबीच मंगलबार ढुंगाहानाहान भएपछि प्रहरीलाई नियन्त्रण गर्न सकस गरेको थियो । आक्रोशित समूहले झगडा नियन्त्रणका लागि पुगेको इलाका प्रहरी कार्यालय महेशपुरको गाडीमा आगजनी गरेका हुन् । आगजनीमा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थिति नियन्त्रणमा लिन ५ राउण्ड अश्रुग्यास र ३ राउन्ड हवाइ फायर गरेको घिमिरेले बताए । झडपमा ११ जना नेपाल प्रहरी, ४ जना सशस्त्र प्रहरी र ३ जना अरु घाइते भएका छन् ।

 

प्रतिक्रिया