हेटौंडामा २५ वटा गोरु सहितको ट्रक नियन्त्रणमा, तस्करीमा प्रहरीकै मिलेमतोको आशंका

हेटौंडा / अवैध रुपमा ओसारपसार गरिँदै गरेको अवस्थामा जिल्ला पशु कार्यालय, मकवानपुरले २५ वटा गोरु सहितको ट्रक नियन्त्रणमा लिएको छ। आइतबार राति पशु सेवा कार्यालय मकवानपुरका प्रमुख डा।ब्रजकिशोर ठाकुरको सक्रियतामा २५ वटा गोरु सहितको ट्रक नियन्त्रणमा लिइएको हो।
आइतबार साँझ गोरु बोकेको बा प्र ०३ ००१ ख १४२४ नम्बरको ट्रक हेटौंडा हुँदै झापा लगिँदै छ भन्ने सूचना प्राप्त भएपछि कार्यालय प्रमुख डा। ठाकुरले उक्त गोरु तस्करी रोक्ने प्रयासमा उत्रिए। उनी तुरुन्तै प्रहरीको चेक पोष्ट रहेको हेटौंडाको रातोमाटे पुगे।
दिउँसो नै तस्करीबारे जानकारी पाएपछि उनी फिल्डमा निस्किएको बताउँछन्। ‘प्रहरी अधिकारीहरूले चेकजाँच गर्दै थिए, तर तस्करी भइरहेको ट्रक प्रहरीकै मिलेमतोमा पास गराउने तयारी भइरहेको उनले देखियो,’ डा। ठाकुरले सोमबार ९आज० घटनाबारे जानकारी दिन राखिएको पत्रकार सम्मेलनमा भने। उनले प्रहरीलाई उक्त गाडी अवैध रूपमा जाँदैछ भनेर जानकारी गराउँदा पनि प्रहरीले ट्रक त्यहाँबाट पथलैयातर्फ पठाइदिएको उनले बताए।
नेपाल प्रहरीले आफूलाई साथ नदिए पछि सशस्त्र प्रहरी बल मार्फत अवैध गोरु नियन्त्रणमा लिन सकिएको ठाकुरले बताए। ‘प्रहरीलाई भनेँ, तर ट्रक नियन्त्रणमा लिनेतर्फ ध्यान नै दिइएन, उनले भने, ‘सशस्त्र प्रहरी बल मकवानपुरका प्रमुख सन्तोष विक्रम शाहलाई अनुरोध गरेपछि बल्ल पथलैयाबाट उक्त ट्रक नियन्त्रणमा लिन सकियो। तर चालक, सहचालक सबै भागे। ट्रक अहिले पशु सेवा कार्यालय परिसरमा छ।’
राति ११ बजे गाडी नियन्त्रणमा लिएर मकवानपुर ल्याइएको थियो। छानबिन गर्दा गाडीमा २५ वटा जर्सीक्रस गोरु भेटिएका थिए। ती गोरुका लागि लक्ष्मी चौपाया सप्लायर्स, हेटौंडा–१६, को नाममा बिल जारी गरिएको पाइएको छ भन् प्रतिगोरु ५ हजार रुपैयाँको बिल बनाएर कृषि प्रयोजनका लागि देखाइएको छ। यता, भेटेनरी प्रमाणपत्रमा आबुखैरेनी, तनहुँका भीम राईको नाम उल्लेख छ। जसमा डा। टिकाराम न्यौपानेको हस्ताक्षर छ।
नेपालबाट गोरु तस्करी गरी भारत हुँदै बंगलादेशसम्म मासु प्रयोजनका लागि पठाउनका लागि लगिएको हुनसक्ने अनुमानमा गोरु नियन्त्रणमा लिइएको उनले बताए। हाल गोरु र ट्रक आफ्नो नियन्त्रणमा भएपनि ट्रक धनी, चालक कोही पनि सम्पर्कमा नआएको र यसै कारण पनि यो अवैध हुनसक्ने उनले बताए।
नेपालको फौजदारी संहिता २०७४ अनुसार गाई-गोरु वध गर्नेलाई तीन वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुन सक्छ। गाई-गोरु मासु बेच्न, बोक्न, ओसारपसार गर्न दण्डनीय अपराध हो। साथै, कस्टम ऐन, पशु ऐन, वन्यजन्तु संरक्षण ऐन अन्तर्गत तस्करीमा संलग्नलाई कानुनी कारबाही गरिनेछ।
जिल्ला प्रशासन कार्यालय मकवानुरका प्रतिनिधिको उपस्थितीमा प्रहरी मार्फत मुचुल्का उठाउने कार्य गरिएको डा। ठाकुरले बताए। मकवानपुरमा नेपाल प्रहरीकै मिलेमतोमा गोरु तस्करी भइरहेको आशंका यस घटनाले बढाएको उनको भनाइ छ।
यता, रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयालले भने उक्त घटनाबारे प्रहरीलाई जानकारी नभएको बताएका छन्। यद्यपि, यस बिषयमा मकवानपुर प्रहरीले अनुसन्धान गर्ने बताइएको छ।
