एन्टारटिक बिस्कुट उद्योगले कामबाट हटाएको भन्दै आन्दोलन

पालिका डायरी
५ फाल्गुन २०८१, २१:५९

हेटौंडा  / हेटौंडा औद्योगिक क्षेत्र परिसरमा रहेको एन्टारटिक बिस्कुट उद्योगले गत माघ महिनाको २९ गतेबाट श्रम सम्झौता सकिएका श्रमिकहरुको सम्झौता थप नगरेको भन्दै यहाँ कार्यरत श्रमिकहरु आन्दोलनमा उत्रिएका छन् । एकैपटक ९७ जना कर्मचारीलाई कामबाट निकालेको भन्दै उनीहरुले पूनः काममा फर्कने वातावरण तयार गरिदिन दबावमुलक आन्दोलन गरेका हुन् ।

उद्योगले श्रमिकको मौलिक हक हनन गरेको भन्दै गैरकानूनी तरिकाबाट निष्काशनमा परेका श्रमिकहरुलाई पुनर्वहाली गर्नुपर्ने उनीहरुको माग छ । ट्रेड युनियन मकवानपुरले आफ्ना मागहरु पूरा नभएसम्म चरणबद्ध किसिमले आन्दोलन गर्ने भन्दै आन्दोलनको कार्यक्रमहरु घोषणासमेत गरेको छ ।

श्रम ऐन विपरित आन्दोलनको नेतृत्व गर्ने मजदुर नेतालाई अनावश्यक लान्छाना लगाई निश्कासन गर्नु अनुचित श्रम अभ्यास भएकोे निष्कर्ष निकाल्दै नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) ले उद्योग प्रशासनलाई गलत अभ्यास सच्याउन आग्रह गरेको छ । ५ बर्ष सेवा गरिसकेका मजदुरलाई गैरकानुनी सम्झौता गरेर उद्योग प्रशासनले नयाँ सम्झौताका नाममा परिक्षण अवधिमा निष्काशन गर्ने योजना बनाएको भन्दै जिफन्टले बिरोध जनाएको जिफन्टका बागमती प्रदेश अध्यक्ष रामहरि नेपालले बताए ।

यता, उद्योगका प्रशासन भने कोही कर्मचारीहरुलाई पनि निष्काशन नगरेको दाबी गर्छ । आन्दोलित कर्मचारीहरुलाई करार अविधि नवीकरण गर्ने प्रक्रियामा आएर काम सुचारु गर्न प्रशासनले आग्रह गरेको उनको भनाइ छ । करार अवधि सकिएकोले एक बर्षको लागि करार सम्झौता गर्नुपर्नेमा निकालिएको भन्दै आन्दोलन चर्र्काएको उद्योगका व्यवस्थापक विवश अर्याल बताउँछन् ।

श्रमिकहरुको आन्दोलनमा समग्र उद्योग ट्रेड युनियन नेपाल जिल्ला समन्वय कमिटी मकवानपुर, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, क्यपेक नेपाल लगायतले पनि ऐक्यबद्धता जनाएका छन् । उद्योगमा हाल ४ सय ५० कर्मचारी कार्यरत छन् । उद्योग प्रशासनका अनुसार ७६ जना श्रमिकहरुले नविकरण सम्झौता गरेर काम गर्दै आएको र बाँकी ११ जना भने काममै आएका छैनन् । उनीहरु डिउटीमा फर्किए करार नविकरण गरिदिने उद्योग व्यवस्थापक अर्यालले बताए । श्रमिकहरुले ९७ जनालाई कामबाट निकालेको आरोप लगाए पनि हाल ११ जनाले मात्रै काम नगरेको उद्योग प्रशासनको दाबी छ ।

प्रतिक्रिया