महाकुम्भ मेलाबाट फर्कँदा दुर्घटना, ३ जना नेपालीको मृत्यु

भारतको महाकुम्भ मेलामा सहभागी भएर फर्कने क्रममा दुर्घटना हुँदा तीन जना नेपालीको मृत्यु भएको छ । पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेहरु रुपन्देहीको देवदहका हुन् । प्रहरीका अनुसार देवदह नगरपालिका–९ का ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दीपा खनाल र ४० वर्षीया गंगा शर्माको मृत्यु भएको हो ।
घाइते हुनेमा देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र गाडी चालक भारतीय नागरिक रितेश दुबे छन् । उनीहरुलाई उपचारको लागि गोरखपुर पठाइएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निरीक्षक महेन्द्र सेनका अनुसार कुम्भ मेलाबाट फर्किंदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो । युपी५३एफडी ४२८८ नम्बरको भारतीय गाडी डिभाडरमा ठोक्किएर दुर्घटना भएको थियो ।
