फागुन १ गते हेटौंडालाई बालमैत्री नगर घोषणा गरिँदै

पालिका डायरी
२९ माघ २०८१, २१:४१

हेटौंडा / हेटौंडा उपमहानगरपालिका फागुन १ गते बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा हुने भएको छ । ५६ औं नगर स्थापना दिवसको अवसर पारेर हेटौंडा उपहानगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारी गरिएको हो । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै उपमहानगरले बालमैत्री स्थानीय तह घोषणाको आवश्यक सबै तयारी पूरा गरेको जानकारी गराएको छ ।

हेटौंडा ५ स्थित क्याम्पा रंगशालामा नेपाल सरकारका उप–प्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा समारोह हुने बताइएको छ ।
बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र घोषणा कार्यविधि २०७९ मा आधारित भई आवश्यक सबै सूचक उपमहानगरले पूरा गरेको नगरप्रमुख मिना कुमारी लामाले बताइन् ।

पत्रकार सम्मेलनमा नगर प्रमुख लामाले बालमैत्री घोषणा कार्यान्वयन भने चुनौतिपुर्ण रहेको बताइन् । उपमहानगरका नगर सहजकर्ताहरुलाई समेत नयाँ ढंगले परिचालन गरिने उनले बताइन् ।
घोषणाका लागि आवश्यक ५१ सूचक मध्य ४३ सूचकमा सतप्रतिशत नतिजा उपमहानगरले प्राप्त गरेको छ । १९ वटा वडा रहेको हेटौडा उपमहानगरपालिकामा १८ वर्षमुनिका ५० हजार १ सय ९५ बालबालिका रहेका छन् । बालमैत्री स्थानीय तह घोषणा समारोहमा सबै वडा कार्यालयलाई वडाको व्यानरमा आ–आफ्नो पहिचान झल्कने झाँकी, ¥याली सहित अनिवार्य सहभागिताको लागि नगर कार्यपालिका कार्यालयले पत्राचार समेत गरेको छ । यसअघि मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैंया गाउँपालिका बालमैत्री पालिका घोषणा भइसकेका छन् ।

प्रतिक्रिया