नारायणगढबाट काठमाडौँ जाँदै गरेको हाइस धादिङमा पल्टियो, ५ जना घाइते

पालिका डायरी
२६ माघ २०८१, १२:१९

पृथ्वीराजमार्गअन्तर्गत धादिङमा शनिबार बिहान हाइस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

प्रहरीका अनुसार नारायणगढबाट काठमाडौँतर्फ गइरहेको बा.२ ख ७६३६ नम्बरको हाइस अनियन्त्रित भई धादिङको बेनिघाट रोराङ गाउँपालिका-१०, पानीधारामा बिहान ८:३० बजेतिर पल्टिएको हो । दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा चितवनको भरतपुर-९ का ४३ वर्षका प्रकाश अधिकारी, (दायाँ हात र छातीमा भित्री चोट, अवस्था सामान्य) सोही स्थानका ५० वर्षीय मनबहादुर पुन (टाउको र बायाँ हातमा चोट, अवस्था सामान्य), भरतपुर-८ बस्ने २५ वर्षीया स्वस्तिका पौडेल (बायाँ हातमा चोट, अवस्था सामान्य), सोही स्थानकी २३ वर्षीया अञ्जली रिजाल (बायाँ हातमा चोट, अवस्था सामान्य) र हाइसका सहचालक भरतपुर-५ बस्ने ५० वर्षका सुर्दशन थापा (गाला, बायाँ हात र दायाँ कुम्मामा चोट, अवस्था सामान्य) घाइते भएका हुन्।

उनीहरूमध्ये सहचालक थापाको बेनीघाटमै रहेको बिहानी फार्मेसीमा उपचार भइरहेको छ भने अन्य चार घाइतेको उपचार बेनीघाटस्थित चौकीटारमा रहेको प्रशान्त फार्मेसीमा भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनाका कारण राजमार्ग अवरुद्ध भएको छैन । हाइससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ

प्रारम्भिक बयानका आधारमा सवारी साधन अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको छ । हाइसमा १४ जना सवार थिए

 

प्रतिक्रिया