हेटौंडा / देशैभरिका जार तथा बोतलका पिउने पानी उत्पादन गर्ने उद्योगीहरूको छाता संगठनका रूपमा नेपाल पानी उद्योग महासंघको घोषणा भएको छ। हेटौंडामा भएको प्रथम प्रारम्भिक भेलाबाट महासंघको घोषणा भएको हो। उक्त भेलाले विक्रम लिम्बु चेम्जोङको नेतृत्वमा २३ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ।
देशभरका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरी बजारमा पठाउने उद्योगहरूको छाता संगठनका रूपमा महासंघको गठन गर्न गत पुष २६ र २७ गते काठमाडौंमा बसेको उद्योगीहरूको भेलाले माघ १७ गते मकवानपुरको हेटौंडामा प्रारम्भिक भेला राख्ने निर्णय गरेको थियो। हिजो बिहीबार हेटौंडामा भएको भेलाले विक्रम लिम्बु चेम्जोङको अध्यक्षतामा २३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो।
जसअनुसार तदर्थ समितिको वरिष्ठ उपाध्यक्षमा भरत बुढाथोकी, उपाध्यक्षहरूमा क्रमशः रवीन्द्र मोहन अधिकारी, पुरुषोत्तम पाण्डे, रूपचन्द्र नौलखा, सवि कार्की, भुवन लोहनी, विक्रम मण्डल रहेका छन्। त्यस्तै, महासंघको महासचिवमा युवा उद्योगी ध्रुव प्रसाद अधिकारी चयन भएका छन्। समितिको उपमहासचिवमा रेसा श्रेष्ठ, कोषाध्यक्षमा देव नारायण चौलागाईं रहेका छन्। भेलाले तदर्थ समितिको सदस्यहरूमा क्रमशः सहदेव बोलखे, ज्ञानहरी लामा, अनिल आचार्य, टक बहादुर सारु, विष्णु हमाल, पदम राउत, शौरभ मारु, कृष्ण आचार्य, नारायण गिरी, साहिल शाह, रक्की लामा र उपेन्द्र कुमार खड्का सर्वसम्मत चयन भएका छन्।
नेपालमा पछिल्लो समय प्रशोधित पिउने पानीको निकै माग हुन थालेको छ। यस्तो अवस्थामा देशभर झन्डै ७ सयभन्दा बढी पानी उत्पादन गर्ने उद्योगहरू सञ्चालनमा रहेका छन्। पानी उद्योगमा १५ अर्बभन्दा बढीको लगानी भएको छ भने २२ हजारले प्रत्यक्ष रोजगारी पाएका छन्। त्यसमा पनि रोजगारीमा जोडिएका परिवारबाट ६६ हजारले प्रत्यक्ष लाभ लिएका छन्। यस्तो अवस्थामा पानी उत्पादन गर्ने उद्योगहरूको छाता संगठनका रूपमा नेपाल पानी उद्योग महासंघको घोषणा भएको हो।
तदर्थ समितिका संयोजक विक्रम लिम्बु चेम्जोङले सबै उद्योगीको हकहितको संरक्षण गर्न र नेपालको पानी अन्तर्राष्ट्रिय बजारमा लैजान पहल गर्न महासंघको स्थापना गर्नुपरेको बताए। उनले महासंघको पारदर्शितामा प्रश्न उठ्ने ठाउँ नरहने गरी तोकिएको समयसीमाभित्र प्रथम अधिवेशन गर्ने समेत बताए। उनले देशभरका सबै पानी उद्योगीहरूलाई महासंघमा गोलबन्द हुन आग्रह गरेका छन्।
त्यस्तै, तदर्थ समितिका महासचिव युवा उद्योगी ध्रुव प्रसाद अधिकारीले धेरै लामो प्रयास र छलफलपछि महासंघको घोषणा गरिएको बताए। उनले सम्पूर्ण पानी उद्योगीहरूको व्यवसायिकतामा सहयोग गर्न, उद्योगीहरूको हकहितको संरक्षण गर्न तथा व्यवसायीहरूलाई थप उत्तरदायी बनाउन महासंघको घोषणा गरिएको बताएका छन्। साथै, उनले वैज्ञानिक तथा आधुनिक प्रविधिको आधारमा पानी उद्योगहरूको विकास गर्ने समेत बताए।
भेलामा देशभरका प्रदेश संघ, विभिन्न जिल्लाका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघ गरी झन्डै १ सयभन्दा बढी उद्योगी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

