रातोमाटेबाट लागुऔषध गाँजासहित एक जना पक्राउ
हेटौंडा / हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेस्थित पूर्व-पश्चिम लोकमार्गमा ५ किलो ३४० ग्राम लागुऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान ६:१५ बजे प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले नियमित चेकजाँचको क्रममा उनलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका-९ नामटार घर भई हाल हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङमा डेरा गरी बस्ने ४० वर्षीय कुमार सिं गोले रहेका छन्। बा.प्र. ०३-००५ प ९४८४ नम्बरको स्कुटरमा हेटौंडाबाट वीरगंजतर्फ जाँदै गर्दा शंका लागि प्रहरीले रोकी जाँच गर्दा उनले लुकाइछिपाई राखेको ५ किलो ३४० ग्राम गाँजा फेला परेको हो।
प्रहरीले लागुऔषधसहित गोलेलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट सात दिनको म्याद थप अनुमतिसहित अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।

