हेटौंडाबाट लागुऔषध ट्रामाडोलसहित दुई जना पक्राउ

हेटौंडा / मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ स्याउली बजारस्थित धरान–चतरा सडकखण्डमा लागुऔषध ट्रामाडोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार साँझ ५ बजेको समयमा प्रहरी चौकी ठुलोदमार मकवानपुरबाट खटिएको टोलीले नियमित चेकजाँचको क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जाकारी दिएको छ।
पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–५, श्रीपुर निवासी २० वर्षीय अमिर थिङ र सोही मोटरसाइकल पछाडी सवार गर्ने कर्मचुली निवासी २० वर्षीय सन्देश राई रहेका छन्। बागमती प्रदेश ०३–००२ प १५८९ नम्बरको मोटरसाइकलमा हेटौंडाबाट फापरबारीतर्फ गइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई शंका लागी जाँच गर्दा लुकाएर राखिएको ३५० वटा ट्रामाडोल ट्याब्लेट फेला परेको हो ।
लागुऔषधसहित पक्राउ परेका दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट सात दिनको म्याद थप अनुमतिसहित अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।