मनहरीबाट ८१ किलो गाँजासहित एक जना पक्राउ

हेटौंडा / मकवानपुरको मनहरीमा ८१ किलो अवैध लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । हिजो (मंगलबार) राति करिब ९ बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नं. ४ का २२ वर्षीय छेटुप थिङ रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । मनहरी गाउँपालिका वडा नं. ८ सिम्पानीस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा चेकजाँच गर्ने क्रममा राक्सिराङ चैनपुरतर्फबाट हेटौडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ च ००६२ नम्बरको बोलेरो पिकअप गाडीलाई शंका लागेर रोकिएको थियो । उक्त गाडी तथा चालकलाई रितपूर्वक खानतलासी गर्दा गाडीको पछाडिको ढालाभित्र लुकाइछिपाई ल्याइएको अवस्थामा ८१ किलो लागुऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरेको गाँजा, बोलेरो पिकअप गाडीसहित छेटुप थिङलाई नियन्त्रणमा लिएर लागुऔषध मुद्दामा थप अनुसन्धान अघि बढाएको प्छरहरीले जनाएको छ। प्रहरीले यस्ता गैरकानुनी गतिविधि रोक्न चेकजाँच र निगरानीलाई थप कडाइ गरिएको जानकारी दिएको छ।