हेटौंडामा पहिलो वडाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुने

पालिका डायरी
८ माघ २०८१, २१:४८

हेटौंडा /  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ खेलकुद विकास समितिको आयोजनामा प्रथम हेटौंडा १२ वडाध्यक्ष कप खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराइएको थियो ।

खेलकुद विकास समितिका संयोजक दिनेश चौलागाईले पहिलो पटक नगर स्तरीय खुला वडाध्यक्ष कप भलिबलको आयोजना गर्न लागिएको बताए । वडा १२ मा रहेको बुद्ध माध्यामिक विद्यालयको खेल मैदानमा प्रतियोगिताको आयोजना रहने जनाइएको छ । वडातहमा पत्राचार गरि सक्यौं, सम्पूर्ण तयारी सकिसकेपछि माघ १६ गतेबाट प्रतियोगिता सुरु गरिने संयोजक चौलागाईले बताए ।

प्रतियोगितामा विजेताले ५० हजार राशी सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ३० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संयोजक चौलागाईले बताए । विजेता पुरस्कार राशी तुलसी मेहर मेमोरियल आवासीय माध्यामिक विद्यालय तथा नारायणी कलेजले प्रायोजन गरेको उनले बताए । वडाबाट एक लाख २५ हजार बजेट विनियोजन गरिएको छ भने अन्य खर्च स्थानीय समाजसेवीहरुबाट प्राप्त गरिने प्रतियोगिता संयोजनक मनोज स्याङ्तानले बताए ।

प्रतियोगितामा करिब १३ टिमको सहभागिता हुने अनुमान आयोजकको रहेको छ । नगर स्तरीय भए पनि टिममा वडा भन्दा बाहिरका बढीमा ३ जना खेलाडीलाई समावेश गराउन सकिने स्याङ्तानले बताए ।

पत्रकार सम्मेलनमा खेलकुद विकास समितिका संयोजक दिनेश चौलागाई, तुलसी मेहर मेमोरियल आवासीय माध्यामिक विद्यालयका अध्यक्ष आशिष श्रेष्ठ, प्राचार्य रघुनाथ खराल, प्रतियोगिता संयोजक मनोज लामा स्याङ्तान लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया