विद्यालय हिँडेका हेटौंडा १६ का अनमोल सम्पर्क बिहीन

गत बुधबार (माघ २ गते) देखि मकवानपुरको हेटौँडा–१६ चिसापानीका १३ वर्षीय अनमोल विश्वकर्मा बेपत्ता भएका छन् । विद्यालय जान भनेर बिहानै घरबाट किताबको झोला बोकेर निस्किएका उनी विद्यालय नै नपुगी बेपत्ता भएका हुन् ।
हेटौँडामै रहेको रेड रोज बोर्डिङ स्कुलमा कक्षा ९ मा पढ्ने अनमोल हरेक दिन बिहानै कोचिङ क्लासको लागि निस्कन्थे । सो दिन पनि स्कुलको हाउस ड्रेस लगाएर बिहान ७ बजेतिर उनी स्कुल जान भनेर घरबाट निस्किएका थिए ।
अनमेला स्कुल हिँडेपछि उनकी आमा उर्मिला कुमारी विश्वकर्मा घरको काम धन्दामा लागिन् । बिहान ८ बजेतिर फोनको घण्टी बज्यो । उर्मिलाका जेठाजुका छोराको मोबाइलबाट फोन गर्दै अनमोलले भने, ‘ममी आज स्कुल बिदा रैछ । त्यहीभएर म त ठूलोबाबाको घर आएँ ।’ यत्ति भनेपछि अनमोलले फोन राखे ।
उर्मिलालाई छोराको बोलीमा भर लागेन । तुरुन्तै विद्यालयका शिक्षकलाई फोन गरिन् । उनले सोधिन्, ‘आज के को बिदा हो र सर ? उताबाट ती शिक्षकको जवाफ आयो, ‘कस्ले भन्यो बिदा ? केहीको पनि बिदा छैन । अनमोललाई पनि स्कुल पठाउनोस् ।’
अनमोल पढ्ने विद्यालयका शिक्षकले बिदा नभएको भनेपछि उनले पुनः अनमोलले फोन गरेको नम्बरमा डायल गरिन् । अनमोलले उताबाट बोल्न नपाउँदै उर्मिलाले झपार्दै भनिन्, ‘तँ खुरुक्क घर आइज । स्कुल बिदा सिदा केही छैन रे । पख् मैले जानेको छु तँलाई’
यती भनेपछि छोरा घर आइहाल्छ भन्ने लागेर उर्मिला आफ्नै कामतिर व्यस्त भइन् । खाना खाने बेलासम्म अनमोल घर फर्किएनन् । दिउँसो त आउला नि भनेर त्यति वास्ता गरिनन् । तर अबेरसम्म पनि घर नफर्किएपछि उनले फेरि जेठाजुका छोराको नम्बरमा फोन गरिन् ।
उताबाट सोही बिहानको ८ः३० बजेतिरै अनमोल निस्किएको खबर पाइन् । ‘त्यहाँ पुगेपछि बाहिरपट्टी लगाएको हाउस ड्रेस खोलेर झोलामा राखेको थियो रे,’ उर्मिलाले भनिन्, ‘भित्रपट्टी कालो टिसर्ट र कालोमा रातो धर्का भएको सुरुवाल लगाएको थियो । ठूलीममीले जाडो हुन्छ भनेर बाहिर पट्टी दाइको ज्याकेट लगाइदिनुभएको थियो रे । त्यहाँबाट स्कुल जान्छु भनेर निस्केको मान्छे स्कुल पनि पुगेको रैनछ ।’
उर्मिलाका अनुसार बिहीबार (हिजो) अनमोल आफ्नी फुपु दिदीकोमा गएको भन्ने खबर पाएको बताउँछिन् । बुधबारको रात फूपूको घरमै बसेका अनमोलले घरमा सोधेर नै आएको भनेका थिए । अनमोलका फूपुका छोरा अर्थात् उर्मिलाका भान्जालाई फोन गरेर सोध्दा बिहीबार बिहानै स्कुल जानु छ भनेर निस्किएको जानकारी गराए । तर उनी न स्कुल पुगे, न त घर नै फर्किए ।
त्यहाँँबाट पनि निस्किएको खबर पाएपछि उनी कहाँ पुगे ? भन्ने अत्तोपत्तो छैन । चिनेजानेका सबै आफन्तकोमा पुग्यो कि भनेर खोजी गर्दा पनि कहिँ कतै छ भन्ने खबर नआएको उर्मिलाको भनाइ छ ।
‘गाली गर्दैमा घरै छोडेर हिड्देला भन्ने मैले कल्पना पनि गरेको थिइनँ,’ भावुक हुँदै उर्मिलाले भनिन्, ‘स्कुल नगएको रिसको झोकमा कराएको थिएँ । गाली गरेपछि डरले कि घर आउँछ, कि स्कुल जान्छ भन्ने सोचेकी थिएँ । तर न स्कुल गएको छ, न त घर फर्कियो । मन साह्रै आत्तिएको छ ।’
छोरा हराएपछि उनले बिहीबार प्रहरी कार्यालयमा खोजी गरिदिन निवेदन दिएकी छन् । प्रहरीले पनि आफ्नो तवरले अनमोलको खाजी गरिरहेको जनाएको छ ।