हेटौंडामा आमा र छिमेकीमाथि चक्कु प्रहार, एक युवक पक्राउ
हेटौंडा / हेटौंडा उपमहानगरपालिका-११ शान्तिटोलमा एक युवकले मादक पदार्थ सेवन गरी आफ्नै आमा र छिमेकीहरूमाथि चक्कु प्रहार गरेका छन् । आइतबार साझ करिब ८ बजे ३० वर्षीय अमित कोइरालाले आफ्नी ५० वर्षीया आमा शान्ता कोइराला र छिमेकीहरूमाथि आक्रमण गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
चक्कु प्रहारबाट कोइरालाका आफ्नै आमा शान्ता कोइरालाको टाउकोमा चोट लागेको र हेटौंडा अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ। त्यसैगरी १६ वर्षीया छिमेकी सबिना पौडेलको बायाँ हातमा, ५२ वर्षीय कृष्ण पौडेलको बायाँ हात र छातीमा तथा ४८ वर्षीय हरि बिडारीको घाँटीमा चोट लागेको छ। घाइतेहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको जानकारी पाउनासाथ घटनास्थलमा पुगी आरोपी अमित कोइरालालाई चक्कुसहित नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।